सुधारका एजेन्डा लिएर अघि बढ्यो धितोपत्र बोर्ड: भदौदेखि सरोकारवालासँग व्यापक छलफल गर्दै

सुधारका एजेन्डा लिएर अघि बढ्यो धितोपत्र बोर्ड: भदौदेखि सरोकारवालासँग व्यापक छलफल गर्दै

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधारलाई तीव्रता दिँदै आगामी भदौ महिनादेखि इन्ट्राडे कारोबार, मार्जिन लेन्डिङ, सर्ट सेलिङ, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) लगायतका विषयमा सरोकारवालासँग व्यापक परामर्श सुरु गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सोमबार बोर्ड भ्रमणका क्रममा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले यस्तो कार्ययोजना प्रस्तुत गरेका हुन्।

बोर्डका अनुसार साउन महिनाभित्र पूँजी बजारसँग सम्बन्धित विभिन्न उपकरण र सुधारका विषयमा कन्सल्टेटिभ पेपर (Consultative Papers)तथा आवश्यक नियम–निर्देशिकाको मस्यौदा तयार गरिनेछ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य सरोकारवालासँग व्यापक छलफल गरी प्राप्त सुझावका आधारमा नीति, नियम र निर्देशिकालाई आवश्यक परिमार्जन गर्दै कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

सेबोन कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टले बोर्डले तयार गरेको ‘क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट’ कार्यान्वयनमा आइसकेको र आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्ययोजनाको कार्यान्वयनसमेत सुरु भइसकेको जानकारी गराए।

उनले पूँजी बजार विकासका क्रममा देखिएका चुनौती समाधान, नीतिगत सुधारको प्रभावकारी कार्यान्वयन तथा बोर्डका कर्मचारीको कार्यसम्पादन र उत्प्रेरणा बढाउन अर्थ मन्त्रालयबाट आवश्यक सहजीकरणको समेत आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोर्डलाई नियामकीय गुणस्तर (Regulatory Quality) अभिवृद्धि गर्दै उच्च नैतिकताका साथ पूँजी बजारको विकास अघि बढाउन निर्देशन दिए। उनले नयाँ नेतृत्वसँगै बोर्डले दीर्घकालीन रणनीति लिएर बजार सुधारको काम अघि बढाएको र त्यसले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गरेको बताए।

अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकजस्तै धितोपत्र बोर्ड पनि वित्तीय प्रणालीको सशक्त नियामक संस्था भएकाले सोही हैसियतअनुसार संस्थागत क्षमता विकास गर्नुपर्ने बताए। उनले कुनै पनि विचलनबिना बलियो नियामकको रूपमा बोर्डलाई स्थापित गर्नुपर्नेमा जोड दिए।

उनले पछिल्लो समय डिम्याट खाताको संख्या उल्लेखनीय रूपमा बढेसँगै लगानीकर्ताको अपेक्षा पनि बढेको उल्लेख गर्दै त्यसअनुसार संस्थागत क्षमता विस्तार र नियामकीय प्रभावकारिता बढाउन बोर्डलाई निर्देशन दिए।

वाग्लेले पूँजी बजारसम्बन्धी नीति निर्माण गर्दा राजनीतिक अर्थशास्त्र (Political Economy) को दृष्टिकोणबाट विश्लेषण गरी सबै सरोकारवालासँग पर्याप्त छलफलपछि मात्रै कार्यान्वयन गर्नुपर्ने बताए। यसले बजारको दिगो विकास र लगानीकर्ताको विश्वास अभिवृद्धि हुने उनको भनाइ थियो।

उनले नयाँ सरकार र नयाँ नेतृत्वसँगै सेबोनको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको सन्देश लगानीकर्ताबीच गएको उल्लेख गर्दै नियामकीय तथा कानुनी सुधारका लागि नेपाल सरकारबाट आवश्यक सबै प्रकारको सहजीकरण उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स