SHAREHUBSHAREHUB

इन्साइडर कारोबार र ‘फिनफ्लुएन्सर’माथि सेबोनले कडाइ गर्ने, ‘शून्य सहनशीलता’ नीति लागू गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
AdvertisementAds
इन्साइडर कारोबार र ‘फिनफ्लुएन्सर’माथि सेबोनले कडाइ गर्ने, ‘शून्य सहनशीलता’ नीति लागू गरिने
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्साइडर कारोबार (Insider Trading), बजार चलखेल र सामाजिक सञ्जालमार्फत हुने भ्रामक लगानी प्रचारविरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अवलम्बन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति मार्फत बोर्डले यस्ता गतिविधिमाथि निगरानी र कानुनी कारबाहीलाई थप कडा बनाउने घोषणा गरेको हो।

नीतिअनुसार भित्री कारोबार, मूल्य हेरफेर, नक्कली कारोबार तथा बजार प्रभावित गर्ने अन्य वित्तीय अपराध नियन्त्रण गर्न ‘धितोपत्र बजार व्यवस्थापन तथा कसूर र सजाय सम्बन्धी ऐन’ को नयाँ मस्यौदा तयार गरिनेछ। यसले अनुसन्धान, कारबाही र दण्ड प्रक्रियालाई थप प्रभावकारी बनाउने बोर्डको लक्ष्य छ।

सामाजिक सञ्जालमार्फत सेयर बजारबारे प्रभाव पार्ने ‘फिनफ्लुएन्सर’ हरूलाई पनि अब नियमनको दायरामा ल्याइने भएको छ। बोर्डले यस्ता व्यक्तिबाट प्रवाह हुने सूचना तथा सिफारिसको प्रभाव विश्लेषण गर्ने, भ्रामक प्रचार र अनधिकृत लगानी परामर्श दिने गतिविधिमाथि निगरानी बढाउने तथा आवश्यक परे कानुनी कारबाही अघि बढाउने जनाएको छ।

बजारमा हुने शंकास्पद कारोबार छिट्टै पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (AI) र बिग डेटा विश्लेषण मा आधारित स्वचालित निगरानी प्रणाली विकास गरिनेछ। साथै, अनुसन्धान र कानुन कार्यान्वयनलाई सुदृढ बनाउन बोर्डमा ‘मार्केट इन्टेलिजेन्स एन्ड इन्भेस्टिगेशन’ विभाग स्थापना गर्ने योजना पनि नीतिमा समावेश गरिएको छ।

यसका अतिरिक्त लगानी परामर्श, अनुसन्धान तथा विश्लेषण सेवा प्रदान गर्ने संस्था र व्यक्तिका लागि स्पष्ट इजाजत प्रणाली र व्यावसायिक आचारसंहिता लागू गरिनेछ। बजार सहभागीमा अनुपालन संस्कृति (Compliance Culture) र व्यावसायिक नैतिकता विकास गर्दै वित्तीय ठगी तथा बजार चलखेल नियन्त्रण गर्ने लक्ष्य बोर्डले राखेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स