नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा बोर्डको पूँजी बजार नीतिमा समावेश सुधारका कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिमा सेबोनका तीन प्रतिनिधिका साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ (CDSC) र स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) का एक–एक प्रतिनिधि सदस्य रहेका छन्।
समितिले मार्जिन लेन्डिङ (Margin Lending), इन्ट्राडे कारोबार (Intraday Trading), धितोपत्र सापटी तथा उधारो (Securities Lending and Borrowing) र शर्ट सेलिङ (Short Selling) कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव तयार गर्ने जिम्मेवारी पाएको छ। साथै, यी सेवाको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने, दोस्रो बजार सुधारसँग सम्बन्धित काममा समन्वय तथा सहजीकरण गर्ने तथा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य निकायसँग सहकार्य गर्ने कार्य पनि समितिले गर्नेछ।
सेबोनले दोस्रो बजारमा नयाँ सेवाहरू क्रमशः लागू गर्ने नीति लिएको छ। यसअन्तर्गत पहिलो चरणमा मार्जिन लेन्डिङ, दोस्रो चरणमा इन्ट्राडे कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङ कार्यान्वयन गर्ने योजना रहेको छ।
यसै योजनाअनुसार समितिले आफ्नो काम सुरु गर्दै मार्जिन लेन्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल प्रारम्भ गरेको सेबोनले जनाएको छ।
प्रतिकृया