अर्थमन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ‘सेटिङ’को आशंका गरेपछी सेबोनले बनायो छानबिन समिति
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ निष्कासन प्रक्रियामा अनियमितता भएको आशंकापछि धितोपत्र बोर्ड नेपाल (सेबोन) ले छानबिन समिति गठन गरेको छ।
सेबोनको मिति २०८२/०९/०४ को निर्णयअनुसार, बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्दा भएका काम–कारबाहीको निष्पक्ष छानबिन गर्न बोर्ड सदस्य बिनोद कुमार भट्टराईको संयोजकत्वमा समिति बनाइएको हो। समितिमा बोर्ड सदस्य आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्। आवश्यक परे समितिले अन्य व्यक्तिलाई समेत आमन्त्रण गर्न सक्नेछ।
समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
यसअघि रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ‘सेटिङ’ भएको आशंका गर्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए। ती समाचार र प्राप्त उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अर्थमन्त्रालयले सेबोनलाई छानबिन गर्न निर्देशन दिएको थियो।
अर्थमन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पुस १ गते सेबोनलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रियासँग सम्बन्धित विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी मन्त्रालयलाई पठाउन आग्रह गरेको थियो।





