घरजग्गा कारोबार पुनः चलायमान, फागुनमा राजस्व चार अर्ब नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३ गते
घरजग्गा कारोबार पुनः चलायमान, फागुनमा राजस्व चार अर्ब नाघ्यो

गत फागुन महिनामा घरजग्गा कारोबारबाट चार अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ। विभागले घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा निरन्तर वृद्धि भइरहेको जनाएको छ।

विभागको तथ्याङ्कअनुसार फागुनमा सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यसअघि साउन महिनामा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

मालपोत कार्यालयहरूमध्ये फागुनमा कलङ्की कार्यालयले २२ करोड ६१ लाख, चाबहिल कार्यालयले २१ करोड ६८ लाख ५२ हजार, लगनखेल कार्यालयले ३८ करोड २८ लाख र चितवनको खैरहनी कार्यालयले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स