प्रतिनीधि सभामा सांसद शाहको प्रश्न: अरु देशमा दर्ता हुँदा नेपालमा दर्ता हुन किन तर्कियो फेसबुक?
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले सरकारले मेटा (Facebook, WhatsApp, Instagram) लाई दर्ता गर्न सात दिने धम्की दिने प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सरकारलाई दीर्घकालीन उपाय र सोचका साथ समस्याको समाधान गर्न आग्रह गरे।
शाहले मेटा जस्ता विदेशी कम्पनीहरूले नेपालका कानूनी र नीतिहरूलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै भने, “हाम्रा कानूनी र नीतिहरूमा केही उलझनहरू छन् भने, त्यसको समाधान नगरी धम्की दिनु लाजमर्दो हो।” उनले मेटा अन्य देशहरूमा दर्ता भइरहँदा नेपालमा किन तर्कियो भन्नेमा छानबिन गर्न आग्रह गरे।
सांसद शाहले मेटासँगको वार्ता नेपालको डिजिटल भविष्यसँग सम्बन्धित महत्वपूर्ण विषय रहेको भन्दै सरकारलाई संयम र धैर्यका साथ काम गर्नका लागि सुझाव दिए। यसअघि, शुक्रबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई तीन पटक सूचना जारी गरेपछि, अब सात दिनको अन्तिम मौका दिइएको जानकारी दिएका थिए।