प्रोजेक्ट अभयको “अभय संवादः शक्ति र प्रगतिको पुनर्परिभाषा” शनिबार सम्पन्न
काठमाडौंमा शनिबार प्रोजेक्ट अभयको आयोजनामा “अभय संवादः शक्ति र प्रगतिको पुनर्परिभाषा” शीर्षकको राष्ट्रिय फोरम सम्पन्न भएको छ। राजनीतिक अन्योल र असन्तोषबीच युवाहरूको नेतृत्व र शक्तिप्रतिको सोचलाई पुनः परिभाषित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आरबी डाइमन्ड ज्वेलर्सको सहकार्यमा नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न यो कार्यक्रममा सातवटै प्रदेशका ४९ जिल्लाबाट ७२ जना महिला र ५८ जना पुरुष गरी कुल १२८ जना युवाहरू सहभागी भएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नेतृत्व कुनै पद नभई जिम्मेवारी भएको बताइन्। उनले भनिन्, “नेतृत्व उपाधि होइन, बोल्नुपर्ने बेलामा मौन नबस्ने प्रतिबद्धता हो।”
कृति अधिकारीको संयोजनमा भएको पहिलो संवाद सत्रमा समावेशी सोच, सहानुभूति र सहकार्यमा आधारित नेतृत्वको महत्वबारे गम्भीर छलफल भयो।
यस्तै पत्रकार सौगात गौतमको संयोजनमा “नीति, आन्दोलन र सहभागिता बीचको अन्तरसम्बन्ध” विषयमा अर्को सत्र भयो। यसमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, समाजवादी पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराई र नीति विज्ञ पुकार मल्लले युवाहरू नै नेतृत्वको मुख्य आधार भएको उल्लेख गरे।
युवा राजनीतिज्ञ अब्दुस मियाँले आफ्नो प्रस्तुतीमार्फत समावेशी शासन प्रणालीमा बहिष्कृत समुदायको आवाज सुनिश्चित नगरेसम्म विकास अधुरो नै रहने बताए। उनले भने, “जबसम्म सबैभन्दा बहिष्कृत समुदायहरू नीतिनिर्माणको केन्द्रमा हुँदैनन्, विकास अधुरो नै रहन्छ।”
त्यस्तै, “शक्ति कसको हातमा छ?” शीर्षकमा भएको अन्तिम सत्रमा सामाजिक सञ्जाल प्रभावक रैना बस्नेतले सहजीकरण गरिन्। यस सत्रमा डिजिटल साक्षरता प्रशिक्षक यजस्वी राई, उद्यमी सन्तोष पाण्डे, नीति अनुसन्धानकर्ता प्रसुज मैनाली र युवा राजनीतिज्ञ जैस्मिन ओझाले शक्ति प्रणाली र यसको रूपान्तरणबारे विचार राखे। उनीहरूले शक्ति केवल पद्धतिमा मात्र होइन, कथाहरूमा पनि हुने बताए।
कार्यक्रमको समापनमा प्रोजेक्ट अभयकी संस्थापक तथा अध्यक्ष इशिका पन्तले यो संवाद कुनै एक कार्यक्रम नभई अबको आन्दोलनको सुरुवात भएको बताइन्। उनले भनिन्, “जब हामी युवालाई नेतृत्व दिन्छौं, हामी केवल भविष्य बनाइरहेका हुँदैनौं, वर्तमान पनि बदलिरहेका हुन्छौं।” कार्यकारी सदस्य निष्ठा श्रेष्ठले थपिन्, “जबसम्म सबै आवाजले ठाउँ पाउँदैन, हामी सही प्रश्न उठाइरहनेछौं।”