चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सरकारले सेयर बजारबाट ठूलो रकममा पुँजीगत लाभकर (सीजीटी) संकलन गरेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का तथ्यांकअनुसार फागुन मसान्तसम्म कुल ६ अर्ब ४४ करोड १० लाख रुपैयाँभन्दा बढी लाभकर उठेको छ। गत आर्थिक वर्षको समान अवधिमा लगानीकर्ताबाट १२ अर्ब रुपैयाँभन्दा बढी कर संकलन भएको थियो। साउनदेखि फागुनसम्म लगानीकर्ताले १२ अर्ब १६ करोड रुपैयाँ कर तिरेका थिए।
साउन महिनामा मात्रै २ अर्ब १५ करोड रुपैयाँभन्दा बढी लाभकर उठेको थियो, जुन चालु आर्थिक वर्षकै उच्च बिन्दु बनेको छ। त्यसपछि भने सेयर बजारको गति कमजोर बन्दै जाँदा राजस्व संकलनमा उतारचढाव देखिएको छ।
महिनागत विवरणअनुसार भदौमा ६० करोडभन्दा बढी, असोजमा २४ करोडभन्दा बढी, कात्तिकमा ३८ करोडभन्दा बढी, मंसिरमा करिब ६३ करोड तथा पुसमा ५८ करोड रुपैयाँ लाभकर संकलन भएको थियो। माघ महिनामा कारोबार बढेसँगै पुनः सुधार देखिँदै १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी लाभकर उठेको थियो।तर फागुनमा पुनः गिरावट देखिएको छ। उक्त महिनामा मात्रै ५५ करोड १५ लाख रुपैयाँ लाभकर संकलन भएको छ, जुन माघको तुलनामा उल्लेख्य रूपमा कम हो।
सीडीएससीका अनुसार फागुनमा संकलित लाभकरमध्ये सबैभन्दा ठूलो हिस्सा अल्पकालीन व्यक्तिगत लगानीकर्ताबाट आएको छ। छोटो अवधिमा सेयर कारोबार गर्ने लगानीकर्ताले ३२ करोड ६ लाख रुपैयाँभन्दा बढी कर तिरेका छन्। दीर्घकालीन लगानीकर्ताबाट १७ करोड ७ लाख रुपैयाँ तथा संस्थागत लगानीकर्ताबाट करिब ६ करोड २ लाख रुपैयाँ संकलन भएको छ।
हालको कर व्यवस्थाअनुसार व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त नाफामा ५ देखि ७.५ प्रतिशतसम्म पुँजीगत लाभकर तिर्नुपर्छ। एक वर्षभन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्ने व्यवस्था छ। संस्थागत लगानीकर्ताका लागि भने १० प्रतिशत कर दर कायम गरिएको छ।









![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-768x432.jpg)




![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)





प्रतिकृया