एनआईसी एशिया क्यापिटल लिमिटेड र पैँचो पसल प्रा. लि. बीच भविष्यमा सर्वसाधारणमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई स्थापना कालदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ। यही सेवाअन्तर्गत सुख्खानगर, बुटवलस्थित रजिष्ट्रार कार्यालयमा दर्ता भएको पैँचो पसल प्रा.लि.लाई प्रा.लि.बाट पब्लिक कम्पनीमा परिणत गरी, प्रचलित कानुनअनुसार प्रबन्धपत्रमा व्यवस्था भएबमोजिम सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्नका लागि उक्त सम्झौता गरिएको हो।
पैँचो पसल कृषि सम्बन्धी कम्पनी हो, जसले उच्च पहाडी क्षेत्रका उत्पादन भएका तरकारीहरूलाई उच्च गुणस्तर कायम गरी उपभोक्तासमक्ष पुर्याउँदै आएको छ। कम्पनीले केचप, अचार, जाम लगायतका खाद्य परिकारहरू उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आएको छ।
पैँचो पसल केवल खाद्य कम्पनी मात्र नभई बीउ बिजन उत्पादनदेखि बजारसम्मको श्रृंखला विकासमा समेत सक्रिय रहेको छ। कम्पनीले किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगका समुदायहरूको आर्थिक तथा सामाजिक उत्थानमा समेत उल्लेखनीय योगदान पुर्याउदै आएको छ।
साथै, कम्पनीले कृषकहरूलाई प्राविधिक परामर्श, व्यवस्थापन सहायता, तथा बजार पहुँच सुनिश्चित गर्दै खेत बाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ।



















प्रतिकृया