नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २६ गते बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ। बैठकले विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा पूर्ण कर छुट दिने, प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्नेलगायतका निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
त्यस्तै, सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय भएको छ। सहिद घोषणा हुनेमा सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गनेश कुमार यादव रहेका छन्।
सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने निर्णयसमेत गरेको छ।
यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्त गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

प्रतिकृया