बुद्ध एयरमा एकपछि अर्को समस्या, कहिलेसम्म जारी रहन्छ प्राविधिक समस्याको श्रृंखला?
नेपालको प्रमुख आन्तरिक एयरलाइन कम्पनी बुद्ध एयरमा पछिल्लो समय प्राविधिक समस्याहरूको चाङ् लागेको छ। बुद्ध एयरमा एकपछि अर्को प्राविधिक समस्या देखिनु अब सामान्य घटना जस्तो बन्न थालेको छ। असारदेखि हालसम्म बुद्ध एयरका जहाजहरूमा ४ ओटा गम्भीर प्राविधिक समस्या देखिएका छन्। बारम्बारका यस्ता घटनाले हवाई सुरक्षामा गम्भीर प्रश्न खडा गरेका छन्। यात्रुको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील क्षेत्रमा बुद्ध एयरको लापरबाही देखिएको छ ।
१. भद्रपुर उडानमा प्राविधिक समस्या
२२ पुस, २०८१ मा त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको ‘नाइनएन-एजेएस’ विमानमा प्राविधिक समस्या देखियो। उडान नं ९५३ को यो विमानमा दायाँ इन्जिनमा समस्या आएपछि पाइलटले काठमाडौं डाइभर्ट गरे। विमान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइयको थियो।
२. पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा समस्या
कात्तिक १, २०८१ मा बुद्ध एयरको ‘नाइन एन-एजेएस’ कलसाइन भएको पर्वतीय उडानमा प्राविधिक समस्या देखियको थियो। विमानको दायाँ इन्जिनमा इन्डिकेटर समस्या देखिएपछी विमानलाई सुरक्षित रूपमा त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो।
३. पोखरा-काठमाडौंबीचको उडान रद्द
भदौ २२, २०८१ मा पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको ‘यू४ ६१६’ नम्बरको विमानमा प्राविधिक समस्या देखियो। रनवेमा उडानका लागि हाई स्पीड लिएको अवस्थामा जहाज रोक्नुपरेको थियो।
लोक गायक विष्णु खत्रीले फेसबुकमा,‘पोखरादेखि काठमाडौँसम्म अहिले १ बजे उड्न लागेको बुद्ध एयरको उडान U4 616 ले रनवेमा उडानको लागि हाई स्पीड लिईसकेपछि झ्याप्प ब्रेक हान्यो र हल्का जहाज ढुलमुलाउँदै नियन्त्रणमा लियो। एकछिनपछि हामीलाई भनियो, जहाजको ईन्जिनमा खराबी आयो। पुनःअर्को जहाजमा लैजान फेरि हामीलाई पर्खाई कक्षमा राखिएको छ। सबै यात्रु थरथर थिए । सकभर गाडीको यात्रा भन्दा प्लेनकै यात्रा तय गर्ने मान्छे म आजबाट भने सोच्न बाध्य भएको छु, कतै पाईलटले प्लेन उडाई दिएको भए ? जिन्दगीको के भरोसा छ र है ? पाईलटको नाम चाहिं थाहा भएन, धन्यवाद पाईलट ज्यू, धन्य प्रभु । जीवन लिला हजुरकै हातमा छ।’ लेखेका थिए ।
४. भैरहवामा रनवेबाट चिप्लियो विमान
२७ असार, २०८१ मा काठमाडौंबाट भैरहवा गइरहेको बुद्ध एयरको ‘नाइन एन–एओसी’ विमान धावनमार्गबाट चिप्लियो। ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा चिप्लिन पुगे थियो । यात्रुहरू र चालक दल सुरक्षित थिए।
यात्रुहरूको सुरक्षामा समझौता गर्न नहुने क्षेत्रीय मान्यतासँगै यस्ता समस्याहरूले एयरलाइनको प्रतिष्ठा र विश्वासमाथि धक्का पुर्याएको छ। देशकै प्रमुख आन्तरिक एयरलाइनले यस्तो लापरवाही प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो। यो अवस्था कहिलेसम्म रहन्छ? समस्याहरू समाधान गर्न बुद्ध एयरले सक्रिय उपायहरू नअपनाउने हो भने यात्रुहरूको जीवन जोखिममा पर्नुका साथै नेपालको हवाई सेवा क्षेत्रको दीर्घकालीन विकासमा पनि असर पर्नेछ।
(यस अघि गल्तीले ५ घटना लेखिएकोमा सच्याएर ४ बनाइएको : सम्पादक। )