नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। सो प्रतिवेदनमा उनले मुलुकको अर्थतन्त्र सुधारको दिशामा लैजान सरकारले गरेका प्रयासहरूलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै, हालको आर्थिक अवस्थाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।
प्रतिवेदनमा ओलीले राजनीतिक स्थायित्व र बलियो सरकारको गठनले निजी क्षेत्रमा विश्वास अभिवृद्धि गरेको र अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकी सकारात्मक दिशामा अगाडि बढाइएको दाबी गरेका छन्। उनले पुँजीबजारमा सुधार देखिएको, गत वर्षको तुलनामा राजस्वमा वृद्धि भएको र निर्यात तथा आयातमा सुधार आएको उल्लेख गरेका छन्।
ओलीका अनुसार, नेपालको पुँजीगत खर्चमा वृद्धि हुनुका साथै मुलुकले पहिलो पटक सार्वभौम क्रेडिट रेटिङ प्राप्त गरेको छ। यस उपलब्धिले दक्षिण एसियामा भारतपछि नेपाललाई दोस्रो स्थानमा पुर्याएको र यसले नेपाललाई लगानीका लागि आकर्षक गन्तव्य बनाएको उनले प्रतिवेदनमा दाबी गरेका छन्।
उनले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको र आर्थिक गतिविधिलाई गति दिन आवश्यक कानूनी संरचनाहरू पारित भइसकेको बताएका छन्। साना आयोजनाहरूमा छरिएको बजेट रोक्दै राष्ट्रिय गौरवका रणनीतिक आयोजनाहरूमा केन्द्रित गर्न सरकारले पहल गरेको उनले उल्लेख गरेका छन्।
बैंकिंग क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव हटेको, विप्रेषण आप्रवाह विस्तार भएको, ब्याजदर घटेर एकल बिन्दुमा पुगेको र मूल्यवृद्धि नियन्त्रणको दायरामा रहेको धारणा प्रतिवेदनमा समेटिएको छ। ओलीले विश्व बैंकको प्रक्षेपणलाई उल्लेख गर्दै, आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्वास व्यक्त गरेका छन्।











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)



![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया