अब डिजिटल वालेट खल्ती मार्फत सहजै नेपाल टेलिकमको ई–सिम लिन सकिने भएको छ। खल्तीले नेपाल टेलिकमसँगको सहकार्यमा प्रयोगकर्ताको सुविधा बढाउने उद्देश्यले यो सेवा सुरु गरेको हो।
ई–सिम लिनुअघि आफ्नो मोबाइल फोनले ई–सिम सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा निश्चित गर्नुपर्ने हुन्छ। त्यसका लागि मोबाइलमा *#06# डायल गर्नुपर्छ। यदि आईएमईआई (IMEI) नम्बरका साथै ईआईडी (EID) नम्बर पनि देखिन्छ भने उक्त फोनमा ई–सिम चल्ने जनाइएको छ।
खल्तीमार्फत हालका लागि पुरानो सिमलाई ई–सिममा परिवर्तन गर्न नमिल्ने र केवल नयाँ ई–सिम मात्र लिन सकिने व्यवस्था गरिएको छ। साथै, खल्ती अकाउन्ट जुन व्यक्तिको नामबाट प्रमाणित गरिएको छ, सिम पनि सोही व्यक्तिको नाममा मात्र उपलब्ध हुनेछ। एक पटक खरिद गरिएको ई–सिमको रकम फिर्ता नहुने पनि खल्तीले स्पष्ट पारेको छ।
ई–सिम खरिद गर्नका लागि खल्ती एप खोली होमपेजमा स्क्रोल गर्दै ‘NTC E-SIM’ विकल्प चयन गर्नुपर्छ। त्यसपछि नाम, बुबा, आमा र बाजेको नाम, जन्ममिति तथा आवश्यक कागजातको विवरण भर्नुपर्ने हुन्छ।
सबै विवरण सही रूपमा भरेपछि पुनः जाँच गरी अन्त्यमा रहेको ‘Purchase’ बटनमा ट्याप गर्नुपर्छ। त्यसपछि खल्तीले नेपाल टेलिकमसँग समन्वय गरी विवरणको प्रमाणीकरण गर्छ।
प्रमाणीकरण पूरा भएपछि प्रयोगकर्ताले उपलब्ध गराएको ईमेलमा ई–सिमको क्यूआर कोड प्राप्त गर्नेछन्। उक्त क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि ई–सिम एक्टिभ हुने कम्पनीले जनाएको छ।

प्रतिकृया
E sim के का लागि र लिदा के फाईदा वा वेफाईदा पनि जानकारी दिए राम्रो हुने थियो कि ???