एनएमबि बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयरको विक्री सम्पन्न गरेको छ। नेपाल धितोपत्र बोर्डले पुस ९ गते २०८१/८२–८.२५ प्रतिशत परिपत्र विधिबाट यी सेयर संस्थागत लगानीकर्तामा मात्र बिक्री गर्न अनुमति दिएको थियो। कम्पनीको सञ्चालक समितिले माघ १३ गते बसेको बैठकमा बाँडफाँडको निर्णय अनुमोदन गरेको हो। सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
कम्पनीले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा मात्र लाभांश वितरण गर्ने नीति अनुरूप अग्राधिकार सेयर बाँडफाँड गरेको हो। साधारण सेयरधनीलाई अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरिएको छ भने अग्राधिकार सेयरधनीलाई निश्चित ८.२५ प्रतिशत ब्याजदर तय गरिएको छ। अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकरण हुने भएकाले संस्थागत लगानीकर्ताले दोस्रो बजारमा पनि कारोबार गर्न सक्नेछन्। अग्राधिकार सेयरका लागि निश्चित लाभांश वितरण भएपछि बाँकी सेयरधनीलाई लाभांश वितरण गरिन्छ।
एनएमबि बैंकका साधारण सेयरधनीले अग्राधिकार सेयरधनीको निश्चित लाभांशदरभन्दा बढी लाभांश पाउँदै आएका छन्। आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट साधारण सेयरधनीले अग्राधिकार सेयरधनी जतिकै लाभांश पाएका थिए। पछिल्लो दशकको तथ्याङ्कअनुसार, आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी ३५ प्रतिशत लाभांश वितरण गरिएको थियो। गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद करसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ।
















प्रतिकृया