बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत थप ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि साउन १३ गते दिउँसो ३ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
यो ६१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय कर्जाको माग अपेक्षित रूपमा नबढेपछि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ। सोही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकमा रकम निक्षेप गर्न बाध्य भइरहेका छन्।
प्रतिकृया