नेपाल राष्ट्र बैंकले रु. ५०० दरका नयाँ नोट छपाई गर्ने निर्णय गरेको छ। यसका लागि २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ। बैंकले आज सूचना जारी गर्दै इच्छुक आपूर्तिकर्ताहरूलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरिएको छ।
बोलपत्र पेश गर्नका लागि मे ३ तारिखसम्म समय तोकिएको छ। यस प्रक्रियामा सहभागी हुन २० हजार रुपैयाँ, १४४ अमेरिकी डलर, १३३ युरो, वा ११२ पाउन्ड स्टर्लिङको शुल्क लाग्ने व्यवस्था गरिएको छ।राष्ट्र बैंकले प्रिक्वालिफिकेसन प्रक्रियामार्फत ६ वटा विदेशी कम्पनीलाई छनोट गरिसकेको छ।
छनोट भएका कम्पनीहरूमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस, र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्क्स रहेका छन्। छनोटमा परेका यी कम्पनीहरूले अब बोलपत्र पेस गर्न सक्नेछन्, र सबैभन्दा कम लागतमा नोट छाप्ने प्रस्ताव पेश गर्ने कम्पनीलाई राष्ट्र बैंकले ठेक्का प्रदान गर्नेछ।


प्रतिकृया