पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटहीमा नेपाल बिमा प्राधिकरणको नयाँ निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटहीमा नेपाल बिमा प्राधिकरणको नयाँ निर्देशन

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। यस अनुसार, सबै निर्जीवन बीमा कम्पनीहरूलाई आवश्यक कागजातहरू पेस गर्न निर्देशन दिइएको छ।

फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्रस्ताव पेश गर्दा बीमकले अनिवार्य रूपमा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। साथै, नेपालका पुनर्बीमकले २४ घण्टाभित्र उक्त प्रस्ताव अस्वीकार गरेको प्रमाण पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, विदेशी पुनर्बीमा कम्पनीहरूसँग पुनर्बीमा गर्दा बीमकले पुनर्बीमा निर्देशिका, २०८० बमोजिम रेटेड कम्पनीहरूसँग मात्र सम्झौता गर्नुपर्नेछ। पुनर्बीमा वापत भुक्तानी गरेपछि प्रत्येक त्रैमासिक समाप्त भएको १५ दिनभित्र सम्बन्धित विदेशी पुनर्बीमकले भुक्तानी प्राप्त गरेको प्रमाण नेपाल बीमा प्राधिकरणमा बुझाउनुपर्नेछ।

विदेशी मुद्रा सटहीका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिने सिफारिस पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य गरिएको छ। साथै, पेश गरिने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छापसहित सम्बन्धित कर्मचारीको हस्ताक्षर हुनु पर्ने व्यवस्था गरिएको छ। यस निर्देशिकाले पुनर्बीमा प्रक्रियामा पारदर्शिता र दक्षता वृद्धि गर्ने विश्वास नेपाल बीमा प्राधिकरणले लिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स