सेबोनलाई नेकपाका सांसद तामाङको प्रश्न, ‘बैंकिङ र पुँजी बजार दुवै सुस्त हुनुको कारण के?’

सेबोनलाई नेकपाका सांसद तामाङको प्रश्न, ‘बैंकिङ र पुँजी बजार दुवै सुस्त हुनुको कारण के?’

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बुधबार बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकिङ क्षेत्र र पुँजी बजार दुवै सुस्त रहनुको कारणबारे प्रश्न उठाएका छन्।

धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्षसमक्ष धारणा राख्दै सांसद तामाङले बैंक र पुँजी बजारबीचको सम्बन्ध अपेक्षाअनुसार काम नगरेको भन्दै यसको वास्तविक कारण स्पष्ट पार्न आग्रह गरे।

उनले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा तरलता थुप्रिएको भए पनि त्यसको प्रभाव न बैंकको कर्जा विस्तारमा देखिएको छ, न त पुँजी बजारमा नै सकारात्मक रूपमा परेको टिप्पणी गरे।

‘बैंक र क्यापिटल मार्केटको सम्बन्ध किन मिलेको छैन ? अहिले यति धेरै लिक्विडिटी छ, तर यता पनि चलेको छैन, उता पनि चलेको छैन । यसको रहस्य के हो ? एकातिर त चल्नुपर्थ्यो नि, कि बैंक चल्नुपर्थ्यो कि धितोपत्र बजार चल्नुपर्थ्यो । तर हाम्रो त दुवै चलेन,’ उनले भने।

तामाङले विगतमा बैंक तथा पुँजी बजारसँग जोडिएका धेरै लगानीकर्ता र कम्पनी प्रवर्द्धक असफल भएको उल्लेख गर्दै अहिलेको सबैभन्दा ठूलो चुनौती के हो भन्नेबारे बोर्डले स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए।

उनले सफल र असफल हुने लगानीकर्ताको अनुपात, जोखिमको स्तर तथा बजारलाई दीर्घकालीन रूपमा सुरक्षित र विश्वासयोग्य बनाउने रणनीतिबारे पनि बोर्डको धारणा माग गरे।

विदेशी लगानी भित्र्याउने विषयमा पनि उनले सफलता र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। ‘हामी विदेशी लगानीकर्ताको सहभागिता बढाउने कुरा गरिरहेका छौं। तर सफलताको सम्भावना कम र असफलताका उदाहरण धेरै सुनिए भने उनीहरू किन आउने ? त्यसैले बजारप्रति विश्वास बढाउने आधार के हो भन्ने स्पष्ट हुनुपर्छ,’ उनले बताए।

सांसद तामाङले धितोपत्र बोर्डलाई बजारमा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने, जोखिम न्यूनीकरण गर्ने र बैंकिङ क्षेत्र तथा पुँजी बजारबीच प्रभावकारी समन्वय कायम गर्ने स्पष्ट कार्यदिशा सार्वजनिक गर्न आग्रह गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स