instainsta

सांसद विदुशी राणाको सेबोनसँग प्रश्न, ‘REIT, ETF र SME एक्सचेन्ज कहिले सञ्चालनमा आउँछ?’

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३२ गते
सांसद विदुशी राणाको सेबोनसँग प्रश्न, ‘REIT, ETF र SME एक्सचेन्ज कहिले सञ्चालनमा आउँछ?’
AdvertisementAds

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुशी राणाले पुँजी बजारको दीर्घकालीन विकास, संस्थागत लगानी विस्तार र नयाँ वित्तीय उपकरण कार्यान्वयनबारे धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्ट कार्ययोजना र समयसीमा माग गरेकी छन्।

बैठकमा उनले नेपालमा करिब ७९ लाख डिम्याट खाता र ७० लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता रहे पनि पुँजी बजारको मार्केट डेप्थ र तरलता अझै सीमित रहेको उल्लेख गर्दै दीर्घकालीन तथा संस्थागत लगानी बढाउन बोर्डको ठोस रणनीति के हो भनेर प्रश्न गरिन्।

राणाले सेबोनले वर्षौंदेखि कर्पोरेट बन्ड बजार, एसएमई एक्सचेन्ज, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (REIT), एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) र भेन्चर क्यापिटलजस्ता नयाँ वित्तीय उपकरण सञ्चालनको चर्चा गर्दै आएको भए पनि तीमध्ये कुन–कुन उपकरण कहिलेसम्म सञ्चालनमा आउने भन्ने स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्न आग्रह गरिन्।

उनले बजार पुँजीकरण नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ७०.५२ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरिए पनि पुँजी बजारमार्फत उद्योग, पूर्वाधार, ऊर्जा तथा उत्पादनशील क्षेत्रमा कति नयाँ पुँजी प्रवाह भयो भन्ने विषय कसरी मापन गरिन्छ भन्ने प्रश्न उठाइन्। साथै, पुँजी बजारको सफलताको वास्तविक सूचकांक के हो भन्नेबारे पनि बोर्डसँग स्पष्ट जवाफ मागिन्।

विदेशी संस्थागत लगानी आकर्षित गर्ने लक्ष्यबारे बोल्दै राणाले विदेशी लगानीकर्ता नेपाल आउनुअघि बजारको पारदर्शिता, नियामकीय व्यवस्था र पूर्वाधारको अवस्था मूल्यांकन गर्ने भएकाले आगामी दुई वर्षभित्र विदेशी संस्थागत लगानी भित्र्याउन बोर्डले कुन–कुन सुधारलाई प्राथमिकतामा राखेको छ भन्ने जानकारी माग गरिन्।

त्यसैगरी, सेबोनले योजना बनाएको एआई (कृत्रिम बुद्धिमत्ता) आधारित मार्केट सर्भिलेन्स, रियल टाइम बजार निगरानी तथा साइबर सुरक्षा सुदृढीकरण प्रणाली कहिलेदेखि सञ्चालनमा आउने र त्यसबाट लगानीकर्ताले प्रत्यक्ष लाभ कहिलेदेखि पाउने भन्ने विषयमा पनि उनले जिज्ञासा राखिन्।

सांसद राणाले पुँजी बजारलाई केवल सेयर किनबेचको प्लेटफर्मका रूपमा नभई नेपालको आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी तीन वर्षमा पुँजी बजारले उत्पादन, रोजगारी र लगानी वृद्धिमा कस्तो ठोस परिणाम दिने लक्ष्य राखिएको छ भन्ने विषयमा पनि बोर्डसँग स्पष्टीकरण माग गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स