सांसद आले भन्छन्, “पोखरा विमानस्थलमा सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार गरेर लागत रातारात बढाइयो” 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ७ गते
सांसद आले भन्छन्, “पोखरा विमानस्थलमा सिमेन्टमै १ अर्ब ३४ करोडको भ्रष्टाचार गरेर लागत रातारात बढाइयो” 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गम्भीर अनियमितता भएको दाबी गर्दै सांसद र पूर्व वनमन्त्री प्रेम आलेले ठेकेदार कम्पनी र सरोकारवाला निकायहरूलाई तीव्र आरोप लगाएका छन्। संसदीय छलफलका क्रममा उनले विमानस्थलको लागत र प्रक्रिया दुवैमा भ्रष्टाचार भएको स्पष्ट संकेत गरे।

उनले खुलासा गरे कि आफ्नो वन तथा वातावरण मन्त्रीकालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बारम्बार आएर वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रिया चाँडो टुंग्याउन दबाब दिएका थिए। “त्यसबेला विमानस्थल निर्माण अन्तिम चरणमा थियो,” उनले भने, “तर ईआईए बिना प्लेन उडाउने कसरी? म वनमन्त्री थिएँ, त्यसको जिम्मेवारी थियो।”

सिमेन्ट खरिदमा भएको भ्रष्टाचारतर्फ संकेत गर्दै आलेले भने, “सिमेन्ट भारत र चीनबाट ल्याइएको थियो, तर त्यसको मूल्य १ किलोमा ५० रुपैयाँ देखाइएको छ, जबकि अहिले पनि बजार मूल्य १५ रुपैयाँभन्दा बढी छैन।” उनका अनुसार, सिमेन्ट खरिदमा मात्र करिब १ अर्ब ३४ करोड रुपैयाँबराबरको अनियमितता भएको छ।

यसबाहेक, उनले विमानस्थलको समग्र लागतमा पनि हेरफेर गरिएको आरोप लगाए। “हामीले डोमेस्टिक विमानस्थलका लागि २२ अर्ब रुपैयाँ खर्च भएको भनिएको छ,” उनले भने, “तर चिनियाँ ठेकेदारले आन्तरिक भागसमेत जोडेर लागत बढाएको देखिन्छ।”

सबैभन्दा ठूलो आपत्ति उनले विमानस्थल निर्माण लागत अचानक १४५ मिलियन डलरबाट २१६ मिलियन डलरमा पुर्‍याइएकोप्रति जनाए। “गाउँपालिकामा बजेट हाल्दा कडाइ हुन्छ, तर यति ठूलो आयोजना रातारात महँगो बनाउँदा किन कडाइ भएन?” भनी उनले प्रश्न गरे।

अन्त्यमा, आलेले ठोकुवा गर्दै भने, “म स्पष्ट रूपमा भन्छु, पोखरा विमानस्थल निर्माणमा गम्भीर भ्रष्टाचार भएको छ र यसमा राजनीतिक संरक्षण दिइएको छ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स