आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
कार्तिक ९ गते सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २,६२९.८२ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ४ अर्ब बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको, १७१ कम्पनीको सेयर मूल्य घटेको र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
एशियन लाइफ इन्स्योरेन्सका सीईओ श्रेष्ठले दिए राजीनामा
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।
कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
श्रेष्ठको राजीनामा लागू हुने मितिदेखि अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद ?
माउन्टेन इनर्जी नेपाल लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रस्तावित लाभांश तथा बोनस सेयर सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।
माउन्टेन इनर्जीको २१.०५२६३ प्रतिशत लाभांश
माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २० गते १३औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस र १ः१ हकप्रद
विन्ध्यवासिनी हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, कम्पनीले हाल कायम सेयरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत गरेको छ। यी प्रस्ताव अनुमोदनका लागि कम्पनीले कात्तिक १८ गते दसौँ वार्षिक साधारणसभा बोलाएको छ।
सभामा ऋणपत्र जारी गर्ने, त्यसबाट प्राप्त रकम उपयोग गर्ने तथा कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ।
बाढीले बन्द भएको विकास हाइड्रोपावरको ४.५५ मेगावाट आयोजना पुनः सञ्चालनमा
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालन गरिरहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। बाढीका कारण क्षति पुगेको प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो।
कात्तिक ८ गते बिहान ११:०८ बजेदेखि आयोजनाबाट विद्युत् उत्पादन तथा व्यावसायिक उत्पादन पुनः सुरु भएको छ।
गत असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
माउन्टेन इनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट विद्युत् प्रसारण पुनः सुरु
माउन्टेन इनर्जी नेपाल लिमिटेडले सञ्चालन गरिरहेको ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाबाट विद्युत् प्रसारण पुनः सुरु भएको छ। कालीगण्डकी नदीमा आएको बाढीपहिरोका कारण क्षति पुगेको २२० केभी दाना–कुश्मा प्रसारण लाइनका टावर मर्मत भएपछि विद्युत् प्रसारण पुनः सञ्चालनमा आएको हो।
असोज ११ गते प्रसारण लाइनका टावरमा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आयोजनाबाट विद्युत् प्रसारण अवरुद्ध भएको थियो।
क्षतिग्रस्त टावरको मर्मतसम्भारपछि असोज ३१ गते राति ११:०५ बजेदेखि आयोजनाको विद्युत् प्रसारण पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
भिजन लुम्बिनी ऊर्जाले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशत अर्थात् ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा कर प्रयोजनका लागि विनियोजन गरिनेछ। बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी वितरण गरिने कम्पनीले जनाएको छ। लाभांश वितरणसम्बन्धी प्रस्ताव कम्पनीको आठौँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ।
मंसिर ३ गते साधारणसभा
कम्पनीले आठौँ वार्षिक साधारणसभा मंसिर ३ गते बिहीबार बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ९ बजे बोलाएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल हुनेछ। साथै, नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ।
कात्तिक १६ गते बुक क्लोज
साधारणसभाका लागि कम्पनीले कात्तिक १६ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई राफसाफ तथा सेयरधनी दर्ता किताबमा अद्यावधिक भएका सेयरधनीले सभामा भाग लिन पाउनेछन्।
हिजोका समाचार छुटाउनुभयो कि?
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया