घाटामा रहेका फाइनान्स कम्पनीहरू नाफामा फर्किए, केहीको घाटा अझै बढ्दो
अघिल्लो आर्थिक वर्षमा घाटामा रहेका केही फाइनान्स कम्पनीहरू चालु वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा फर्कन सफल भएका छन्। बजारमा चुनौतीपूर्ण परिस्थिति रहे पनि यी कम्पनीहरूले आफ्नो वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेका छन्।
फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार हालसम्मको समग्र नाफा १८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरूले २० करोड ४८ लाख रुपैयाँ नाफा कमाएका थिए। नाफा केही घटे पनि घाटामा रहेका कम्पनीहरूको पुनरागमनले समग्र क्षेत्रमा आशा देखिएको छ।
सेन्ट्रल फाइनान्स अघिल्लो वर्ष ६ करोड १४ लाख रुपैयाँ घाटामा रहेको थियो भने अहिले १ करोड ७ लाख रुपैयाँ नाफामा पुगेको छ। त्यस्तै गुडविल फाइनान्सले ८ करोड ६४ लाखको घाटाबाट उन्मुक्ति पाउँदै १ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ।
समृद्धि फाइनान्सले पनि घाटा घटाउँदै अघिल्लो वर्षको ६ करोड ९३ लाखबाट यो वर्ष ३ करोड ५७ लाख रुपैयाँमा सीमित राख्न सफल भएको छ।
यसका विपरित, केही फाइनान्स कम्पनीहरूको घाटा झन् बढेको छ।
रिलायन्स फाइनान्स अघिल्लो वर्ष ४ करोड ७ लाख घाटामा थियो, जुन अहिले १२ करोड ७ लाख रुपैया घाटा बढेर १७ करोड ४७ लाख पुगेको छ। जनकी फाइनान्सको घाटा पनि १० करोड ८६ लाखबाट बढेर १२ करोड ८३ लाख पुगेको छ। वेष्ट फाइनान्स अघिल्लो वर्ष थोरै नाफामा भए पनि अहिले ७ करोड ५२ लाख घाटामा पुगेको छ।
यता, आईसीएफसी फाइनान्स सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी बनेको छ। कम्पनीले १९ करोड ५० लाख रुपैयाँ नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा झण्डै ४८६ प्रतिशतको वृद्धि देखाएको छ। मञ्जुश्री फाइनान्सले पनि १७ करोड ११ लाख नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ।