कमलेश अग्रवाल भन्छन्, ‘दुई तिहाई नजिकको सरकार बनेसँगै लगानीकर्ता उत्साहित बनेका छन्’

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २७ गते
कमलेश अग्रवाल भन्छन्, ‘दुई तिहाई नजिकको सरकार बनेसँगै लगानीकर्ता उत्साहित बनेका छन्’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले वर्तमान राजनीतिक परिवेशले देशमा नयाँ आशा र सम्भावना सिर्जना गरेको बताएका छन्।

शुक्रबार चेम्बरको ७५औँ वर्षगाँठ (हिरक जयन्ती) समारोहमा बोल्दै उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीति संवेदनशील मोडमा पुगेको उल्लेख गरे। हालै सम्पन्न निर्वाचन परिणामले देशमा नयाँ आशा सञ्चार गरेको उनको भनाइ छ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलोपटक कुनै एक दलले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको उल्लेख गर्दै उनले अभूतपूर्व जनादेशसहित गठन भएको नयाँ सरकारबाट राजनीतिक तथा आर्थिक स्थायित्व, सुशासन तथा लगानीमैत्री वातावरण बन्नेमा निजी क्षेत्र विश्वस्त रहेको बताए।

अध्यक्ष अग्रवालले निजी क्षेत्र नयाँ नेतृत्वप्रति आशावादी रहेको र सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए। उनका अनुसार ताजा जनादेशले स्वदेशी तथा विदेशी लगानीकर्तामा विश्वास बढाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने, करिब ६० खर्बको अर्थतन्त्र विस्तार गर्ने, प्रतिव्यक्ति आय करिब १४ सय डलरबाट ३ हजार डलर पुर्‍याउने तथा १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।

साथै विज्ञ मन्त्री र विशेषज्ञमा आधारित प्रशासनिक संयन्त्र स्थापना गर्ने प्रतिबद्धताले निजी क्षेत्रलाई थप उत्साहित बनाएको उनले बताए।

सहकारी क्षेत्रमा देखिएको समस्याबारे बोल्दै अध्यक्ष अग्रवालले साना उद्यमी र बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने सरकारी योजनाले व्यवसायीमा हौसला थपेको उल्लेख गरे।

उनले सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने योजनाले आर्थिक विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मध्यपूर्वमा जारी युद्धका कारण आयातमा निर्भर नेपालको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै उनले इन्धन आयात, वैदेशिक रोजगारी, रेमिट्यान्स, पर्यटन तथा व्यापार क्षेत्रमा असर पर्ने बताए।

अन्त्यमा, उनले ऊर्जा सुरक्षा, वैदेशिक रोजगारीमा विविधीकरण र आर्थिक आत्मनिर्भरता बढाउने नीति आवश्यक रहेको औंल्याउँदै वर्तमान अवस्थामा इन्धनमा लगाइएका करदर घटाएर उपभोक्तालाई राहत दिन सरकारसँग आग्रह गरे।

दीर्घकालीन समाधानका लागि सहरी यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने, इभी प्रवर्द्धनमा जोड दिनुपर्ने तथा ऊर्जा नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स