वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ: गभर्नर अधिकारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्। उनले राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै यस्तो बताएका हुन्।

गभर्नर अधिकारीका अनुसार, “वित्तीय क्षेत्र एकदमै संवेदनशील छ, तर कतिपयले यसको संवेदनशीलता बुझ्दैनन्, जसले नागरिकमा नकरात्मक धारणा पैदा गर्न सक्छ।” उनले थपे, “सञ्चार माध्यमले सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ, ताकि गलत सूचना प्रवाह नहोस्।” उनले केन्द्रीय बैंकले सही सूचना प्रवाहको लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए।

गभर्नर अधिकारीले सञ्चार माध्यमलाई धन्यवाद दिँदै भने, “गभर्नर पदमा रहँदा सहज र असहज दुबै परिस्थितिमा सञ्चार माध्यमले सहयोग गरेको छ।” उनले आर्थिक पत्रकारको भूमिकाबारे पनि टिप्पणी गर्दै भने, “पत्रकारले आर्थिक र वित्तीय सूचनाहरूलाई सही ढंगले सम्प्रेषण गरेअनुसार नागरिकको धारणा निर्माण हुन्छ।” उनले केन्द्रीय बैंकद्वारा सार्वजनिक गरिएका तथ्यांकहरूको व्याख्या र विश्लेषण गर्ने महत्त्वमा जोड दिए।

उनले सही सूचना प्रवाहको महत्त्व औंल्याउँदै भने, “सही सूचना प्रवाहको परिणामस्वरूप नागरिकले सही निर्णय लिन र योजना बनाउन सहयोग प्राप्त गर्छन्।” उनले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो सामग्रीहरूको बजारमा ठूलो प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको पनि बताए।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए। उनले भने, “वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा बढी संवेदनशील छ, र यदि नागरिकमा विश्वास छैन भने समग्र आर्थिक वित्तीय क्षेत्रमा असर पुर्याउँछ।” उनले आर्थिक र वित्तीय क्षेत्रमा सही जानकारी प्रवाह गरिएमा केन्द्रीय बैंकलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस कार्यक्रमको मुख्य उद्देश्य आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु हो, र यो सोमबारसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स