स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्तिबारे जानकारी दिएका हुन्।
उनले चार स्थानमा जग्गा रहेको उल्लेख गरेका छन्। कास्कीको माझठाना गाउँपालिका–७ मा रहेको ती चार टुक्रा जग्गा २०५२ सालमा पदम पुनसँग मिलेर करिब ४ लाख रुपैयाँमा किनेको उनले बताएका छन्। उक्त जग्गाको कुल क्षेत्रफल करिब ४ रोपनी ६ आना रहेको छ।
महावीर पुनले आफ्नै नाममा घर नभएको र हाल डेरामा बस्दै आएको पनि जानकारी दिएका छन्।
उनका अनुसार आफूसँग ३ तोला सुन रहेको छ, जुन २०६० सालमा किनेको हो र उक्त सुन श्रीमतीको नाममा रहेको छ।
त्यस्तै, नेपाल बैंकमा ४ लाख, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख गरी करिब २९ लाख रुपैयाँ नगद मौज्दात रहेको उनले खुलाएका छन्। त्यसमध्ये २५ लाख रुपैयाँ हालैको चुनावमा प्राप्त सहयोगबाट बाँकी रहेको रकम हो।
उनले आफ्नो आत्मकथा बिक्रीबाट आएको रकम आविष्कार केन्द्रको खातामा जम्मा गर्दै आएको पनि बताएका छन्।
1






प्रतिकृया