सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिप्रति कटाक्ष गरे।
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उनले ‘हैसियत भुलेको’ भने ।‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो,’ उनले भने । साथै, उनले आफ्नो संस्था र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्न नसक्ने पनि बताए ।
‘हामीले गरेको उदार प्रबन्धलाई बिर्सेको हो । राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने, ‘एउटा कुलमा जन्मिएको कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’



















प्रतिकृया