सशस्त्र प्रहरी जवानलाई १६ वर्षमै पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको गृहमन्त्रीको घोषणा
सशस्त्र प्रहरी दिवसका अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन्।
गृहमन्त्री लेखकले आफूले गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै सुरक्षा निकायसम्बन्धी ऐन र कानूनलाई प्राथमिकतामा राखेको उल्लेख गरे। उनले भने, “सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर नयाँ कानून बनाइएको छ।”
उनका अनुसार, नयाँ कानुनमार्फत सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि माग गर्दै आएको १६ वर्षमै अवकाश पाउने सुविधाको कानुनी व्यवस्था गरिने छ। “यो घोषणा गर्न पाउँदा म अत्यन्तै खुसी छु,” गृहमन्त्री लेखकले थपे।
सशस्त्र प्रहरीको विधेयकलाई केही दिनभित्रै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए।