जेन्जी आन्दोलनका कारण बन्द रहेको सेयर बजार आज (बिहीबार) खुलेको थियो। तर, पहिलो दिन नै बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक आज १६०.३३ अंकले घटेर २५११.९१ को विन्दुमा बन्द भएको छ। लगातार तेस्रो पटक नकारात्मक सर्किट लागेसँगै आजको लागि सेयर कारोबार बन्द गरिएको हो। जेन्जी आन्दोलनपछि अस्थिर राजनीतिक परिस्थितिका कारण लगानीकर्ताको मनोबल घटेको देखिएको छ।
आज बजार खुलेको दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नकारात्मक सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। सर्किटपछिको बजार ११:२२ बजे खुलेको थियो, तर एक मिनेटमै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लाग्यो। त्यसपछि बजार ४० मिनेटका लागि रोकियो र १२:०३ बजे बजार खुलेको नेप्से ६ प्रतिशतले घटेर आजको लागि बन्द भएको हो।आज २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य बढेको छ। कुल १७ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
आज २२ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। तर, हिम स्टार उर्जा कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। हिम स्टार उर्जा हालै नेप्सेमा आइपिओमार्फत सुचिकृत भएको हो। पहिलो दिन नै लगानीकर्ताको आकर्षण र उच्च मागका कारण कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।आज बजार उच्च अंकले घट्दा पनि हिम स्टार उर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लग्न जारी रहेको छ। आज कारोबार भएको छैठौं दिन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ४७३.५० मा बन्द भएको छ। आज कम्पनीको जम्मा २९० कित्ता मात्र सेयर कारोबार भएको छ।




















प्रतिकृया