गभर्नर सिफारिस समितिले पूर्णता पाउने, ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइयो
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। झण्डै एक सातापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
आजको बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्य पदमा नियुक्ति गर्ने तयारी गरेको छ। अघिल्लो साता समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सो पद खाली भएको हो।
गभर्नर सिफारिस समितिको संयोजक अर्थमन्त्री रहने व्यवस्था ऐनमा गरिएको छ भने अर्का सदस्यको रूपमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल रहेका छन्। रिक्त पदमा नयाँ सदस्य नियुक्त भएसँगै सिफारिस समिति पूर्ण बन्नेछ।
समिति पूर्ण भएपछि अर्को बैठकमार्फत नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाइनेछ।