नारायणी डेभलपमेन्ट बैंकले मङ्सिर ११ गतेदेखि हकप्रदमा अवितरित सेयर लिलामी गर्ने भएको छ। बैंकले हकप्रदमा बिक्री नभएका ६ लाख २१ हजार ६ सय ६ कित्ता सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो। यसमध्ये ६ लाख ३ हजार १ सय ६२ कित्ता संस्थापक समूहका सेयर रहेका छन् भने बाँकी सेयर साधारण समूहका हुन्।
यस लिलामी प्रक्रियाको विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल ले पाएको छ। सेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। आवेदन दिनु पर्ने न्युनतम संख्या १०० कित्ता राखिएको छ भने अधिकतम सीमाना राखिएको छैन इच्छुकले उपलब्ध सबै सेयरमा पनि आवेदन दिन सक्नेछन्।
लिलामीको आवेदन दिने अन्तिम म्याद मङ्सिर २५ गतेसम्म रहनेछ। संस्थापक समूहका सेयर खरिद गर्न चाहनेले नेपाल राष्ट्र बैंकको फिट एण्ड प्रपर टेस्ट सम्बन्धी सबै मापदण्ड पूरा गरेको हुनु आवश्यक छ।
काठमाडौँ उपत्यकाभित्रका लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, नक्सालबाट शिलबन्दी फारम लिएर त्यहीँ बुझाउन सक्नेछन्। काठमाडौँ बाहिरका लागि ग्लोबल आईएमई बैंकका बिराटनगर, हेटौडा, वीरगञ्ज, नारायणगढ, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन मिल्नेछ।
बैंकले यसअघि असोज २ देखि कार्तिक ९ गतेसम्म १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद जारी गरेको थियो। सो प्रक्रियामा अवितरित भएका सेयर नै अब लिलामीमा आउने भएका हुन्। नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद जारी गर्ने अनुमति साउन १५ गते दिएको थियो।



















प्रतिकृया