प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले दुईतिहाइ नजिकको स्थिर सरकार हुँदासमेत पुँजी बजार अपेक्षाअनुसार सुधार हुन नसकेको टिप्पणी गरेका छन्।
धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्षसँगको छलफलमा उनले विगतमा अस्थिर सरकारका कारण बजार प्रभावित भएको तर्क स्वीकार गर्न सकिने भए पनि अहिले स्थिर सरकार हुँदासमेत बजार निराशाजनक अवस्थामा रहनु चिन्ताको विषय भएको बताए।
‘बिहानीले दिनको संकेत गर्छ भन्ने गरिन्छ। हिजो अस्थिर सरकार हुँदा बजार माथि उठ्न सकेन भन्ने मान्न सकिएला। तर अहिले झण्डै दुईतिहाइको स्थिर सरकार हुँदा पनि बजारको अवस्था अत्यन्तै निराशाजनक छ,’ उनले भने।
उनले समग्र अर्थतन्त्रका अधिकांश क्षेत्रमा अपेक्षित उत्साह देखिन नसकेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र नियामक निकाय दुवैले जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए।
सांसद बुढाले धितोपत्र बोर्डले केही सुधारका प्रयास अघि बढाएको स्वीकार गर्दै अब थप व्यवस्थित, प्रभावकारी र कडा नियामकीय नीति लागू गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार धेरै कम्पनी प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेका बेला बजारमा चलखेल, जोखिम, कमजोर नियमन तथा सुपरिवेक्षण र स्वार्थ समूहको प्रभाव अझै कायम छ।
‘बजारमा चलखेल छ, जोखिम उत्तिकै छ, नियमन र सुपरिवेक्षण कमजोर छ। स्वार्थ समूहको हालीमुहाली छ। यसलाई नियन्त्रण गर्न ठोस कार्यक्रम र कार्यनीति आवश्यक छ,’ उनले भने।
त्यस्तै, उनले पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्न पनि बोर्डलाई आग्रह गरे। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका साना लगानीकर्ताले प्राविधिक शब्दावली बुझ्न कठिन हुने भएकाले सर्वसाधारणले सहजै बुझ्ने भाषामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
‘ग्रामीण क्षेत्रमा रहेका साना लगानीकर्ताले पनि बुझ्ने गरी सरल भाषामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,’ उनले आग्रह गरे।

प्रतिकृया