बाँकेबाट बिजुली, पियोर इनर्जीको आइपीओ भर्नु अघि हेर्नुहोस् कस्तो छ कम्पनी ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २८ गते
बाँकेबाट बिजुली, पियोर इनर्जीको आइपीओ भर्नु अघि हेर्नुहोस् कस्तो छ कम्पनी ?

पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) आज बिहीबारदेखि खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गरेको हो। यसबाट कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

आवेदन दिने म्याद वैशाख २ गतेसम्म कायम रहनेछ भने सो अवधिमा सेयर बिक्री नभए वैशाख ११ गतेसम्म अवधि थपिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी-आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयर प्रणालीमार्फत दिन सकिन्छ।

कम्पनीको आइपीओ बिक्री व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङले गरिरहेको छ। यसअघि पियोर इनर्जीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि क्रमशः १ लाख ६० हजार र १ लाख ४४ हजार कित्ता सेयर निष्कासन गरिसकेको छ।क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले पियोर इनर्जीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ। यो रेटिङ २०८२ साल साउन २० गतेसम्म मान्य हुनेछ।

यसको मुख्य कार्यालय काठमाडौंको सोल्टीमोडस्थित छ भने सौर्य विद्युत आयोजना बाँकेको खजुरा गाउँपालिका–८ मा अवस्थित छ।कम्पनीले १०–१० मेगावाट क्षमताका दुईवटा सौर्य पीभी विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। यी आयोजनाहरूबाट क्रमशः २०८० पुस ११ र वैशाख १८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ।

कम्पनीको अधिकृत र जारी पुँजी ८० करोड रुपैयाँ हो भने हालको चुक्ता पुँजी ६४ करोड रुपैयाँ रहेको छ। आइपीओ बिक्रीपछि चुक्ता पुँजी बढेर ८० करोड पुग्नेछ। त्यसपछि संस्थापक सेयरधनीको स्वामित्व ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत रहनेछ। कम्पनीले आर्थिक वर्ष २०८३/८४ सम्म पुँजी वृद्धि गर्ने योजना भने बनाएको छैन। वित्तीय प्रक्षेपणअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ४ करोड २१ लाख रुपैयाँ नाफा कमाउने अपेक्षा गरेको छ। २०८३/८४ सम्म नाफा ७ करोड ८८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ४३ पैसा रहने अनुमान गरिएको छ। २०८३/८४ मा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा र नेटवर्थ १२० रुपैयाँ ४९ पैसा पुग्नेछ।गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर आम्दानी ३८ पैसा मात्रै रहेको देखिन्छ। कम्पनी सञ्चित नोक्सानीमा रहेको छ र पुस मसान्तसम्म २ करोड ३ लाख रुपैयाँको नोक्सानी रहेको देखिन्छ।

पियोर इनर्जी लिमिटेड गोल्याण ग्रुपअन्तर्गतको सौर्य ऊर्जा उत्पादन कम्पनी हो। कम्पनीका अध्यक्ष अक्षय गोल्याण हुन्, जसको नाममा ४९ लाख ९९ हजार ५ सय कित्ता सेयर छन्। उनीले एमबिए सम्म अध्ययन गरेका छन् भने रिलायन्स स्पिनिङ मिल्स, सिटी होटल, शिवम् प्लाष्टिक इन्डस्ट्री लगायतका संस्थामा सञ्चालकको भूमिकामा रहेका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल हुन्, उनि २०७७ साल माघदेखि पद सो पदमा कार्यरत छन्।

कम्पनीले आइपीओबाट संकलित रकम बैंक ऋण, धरौटी तथा अन्य दायित्व भुक्तानीमा प्रयोग गर्नेछ। यसमध्ये १४ करोड ४७ लाख रुपैयाँ नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा तिर्नेमा खर्च गरिनेछ भने १ करोड ५३ लाख रुपैयाँ अन्य दायित्व भुक्तानीमा प्रयोग गरिनेछ।कम्पनीले कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गर्दा, न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा करिब १ लाख १९ हजार ५२० जनालाई मात्र सेयर प्राप्त हुनेछ। त्यसैले, आइपीओमा लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स