अमेरिकामा जन्मेकै आधारमा नागरिता दिइने प्रावधान खारेज गर्ने ट्रम्पको आदेशमा अदालतको रोक
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नासाथ गैर-अमेरिकी मातापिताबाट जन्मिएका बालबालिकाहरूलाई स्वतः अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने कार्यकारी आदेश जारी गरेका थिए।
तर, यो आदेशलाई सियाटलस्थित संघीय अदालतले अस्थायी रूपमा रोक लगाएको छ। अदालतको आदेश पछि ट्रम्पलाई ठूलो झट्का लागेको छ।
अमेरिकाका चार राज्य—वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन—ले ट्रम्पको आदेशमा रोक लगाउन अदालतमा याचिका दायर गरेका थिए। अदालतले ती राज्यहरूको दाबीलाई विचार गर्दै उक्त आदेशमा रोक लगाएको हो।
अमेरिकाको कानुनी विभागका वकिलहरूले ट्रम्पको आदेशको बचाउ गरेका थिए। बीबीसीका अनुसार, न्यायाधीशले ती वकिलहरूलाई यो आदेश संवैधानिक रूपमा सहि छ कि छैन भन्ने प्रश्न गरेका थिए।
ट्रम्पको आदेशमा जन्मेका बच्चाले कस्ता परिस्थितिमा अमेरिकी नागरिकता नपाउने उल्लेख गरिएको थियो। विशेष गरी, यदि शिशुकी आमा अवैध रूपमा अमेरिकामा बस्दैछ भने, वा यदि शिशुको पिता अमेरिकी नागरिक वा वैध स्थायी निवासी नभए भने, त्यस्ता बच्चाले नागरिकता नपाउने आदेश थियो। यसैगरी, यदि आमा अस्थायी निवासी थिइन् र पिता अमेरिकी नागरिक वा वैध स्थायी निवासी थिएनन् भने पनि नागरिकता नपाउने प्रावधान थियो।