प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्।
चीनको औपचारिक भ्रमणका क्रममा बेइजिङमा आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहेको र ऊर्जा, पूर्वाधार, पर्यटन, हवाई, स्वास्थ्यजस्ता क्षेत्रमा लगानीको अपार सम्भावना रहेको बताए।
उनले विदेशी लगानी आकर्षित गर्न नेपाल सरकारले नीतिगत सुधार र व्यापार सहजीकरणका लागि पहल गरिरहेको जनाउँदै स्वदेशी तथा विदेशी लगानीको संरक्षण सरकारको प्राथमिकता रहेको उल्लेख गरे। नेपालका कृषिजन्य उत्पादनलाई चिनियाँ बजारमा सहजीकरण गर्ने प्रयास आवश्यक रहेको पनि उनको भनाइ थियो।
चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले नेपाल-चीनको सम्बन्ध पुरानो र सुदृढ रहेको भन्दै चीनले नेपालमा लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालका उत्पादनहरूलाई भन्साररहित सुविधा दिने निर्णयले व्यापार प्रवद्र्धनमा सहयोग पुर्याउने बताए।
सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, पूर्वाधार र अन्य क्षेत्रहरूमा लगानीका अवसरहरू औंल्याए। महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले व्यावसायिक वातावरण सुधार गर्न कानुन संशोधन र द्विपक्षीय लगानी सम्झौताको खाका तयार गरेको जानकारी गराए। नेपाल-चीनको परम्परागत सम्बन्ध र बढ्दो आर्थिक सहकार्यले दुई देशबीच व्यापार र लगानीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
















प्रतिकृया