नवनियुक्त सीईओलाई ब्रोकरको सुझाव: “सस्टेनेबिलिटी, सुधार र लगानीकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने समय आएको छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २३ गते
नवनियुक्त सीईओलाई ब्रोकरको सुझाव: “सस्टेनेबिलिटी, सुधार र लगानीकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने समय आएको छ”

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बैंकिङ र व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका चुडामणि चापागाईं नियुक्त भएपछि सेयर बजारमा सुधारको आशा थप बलियो बनेको छ। बजारसँग प्रत्यक्ष रूपमा जोडिएका ब्रोकरहरुले नयाँ नेतृत्वसँग ठूला सुधारका अपेक्षा राखिरहेका छन्।

बजारको चिरफारसँग कुरा गर्दै सिटिजन्स सेयर ब्रोकर्सका (ब्रोकर नं. ९१) प्रमुख कार्यकारी अधिकृत मनिस अर्यालले चापागाईंलाई बधाई दिँदै केही महत्वपूर्ण सुझावहरू राखेका छन्।

उनले पछिल्ला वर्षहरूमा ब्रोकरको संख्या ५२ बाट ९३ पुगेको उल्लेख गर्दै यस्तो अवस्थामा ब्रोकर व्यवसायलाई दिगो बनाउन नीति र संरचनागत सुधार आवश्यक रहेको बताए। “संख्यात्मक वृद्धिसँगै गुणात्मक दिगोपनको कुरा पनि उत्तिकै महत्वपूर्ण छ,” अर्यालले भने, “ब्रोकर व्यवसायबाट जीवन निर्वाह गर्न सकिने आधार तयार पार्न नेप्सेको भूमिका अझै प्रभावकारी हुनुपर्ने देखिन्छ।” उनले हाल लागू गरिएको फ्ल्याट २० प्रतिशत ब्रोकरेज कमिसन रटि+३ सेटलमेन्ट साइकलबारे पुनर्विचार गर्न आग्रह गरे। “थोरै परिमार्जन गरेर यसलाई ब्रोकर व्यवसायमैत्री बनाउने दिशामा अघि बढ्न सके, व्यवसायले राहत महसुस गर्न सक्छ,” उनले बताए।

अर्यालले सेयर बजारमा इन्ट्राडे ट्रेडिङ र शर्ट सेलिङजस्ता अन्तर्राष्ट्रिय अभ्यास भित्र्याउने विषयमा पनि गम्भीर छलफल सुरु हुनुपर्ने बताए। “धेरै लगानीकर्ताको इच्छा यस्ता सुविधाहरू नेपाली बजारमा पनि देख्न पाउनु हो। हाम्रो प्रविधि र प्रणालीले यो सम्भव बनाउनेछ कि भन्ने भायाबिलिटी चेक अहिलेको चरणमै सुरु गर्न सकिन्छ,” उनले भने। टिएमएस प्रणालीको सम्बन्धिमा उनले डिजिटल पहुँचमा सुधारको आवश्यकता औंल्याए। मोबाइलमैत्री प्लेटफर्ममार्फत कारोबार, भुक्तानी र सेवाहरू सहज बनाउन सके लगानीकर्ताको संख्यामा उल्लेखनीय वृद्धि हुनसक्ने विश्वास उनले व्यक्त गरे।

अहिलेको दिनमा मानिसहरु एकदमै हतारमा कुनै सेयर किन्न ल्यापटप अन गरेर अफिसमा बसेर कारोबार गर्ने सम्भावना नभएको केसमा मोबाईल प्ल्याटफर्ममा पनि सहज गर्न सक्यौ भने सेवाग्राहीहरूले आफ्नो मोबाइल बाट सहजै सेयर किनबेच र पेमेन्ट गर्न सक्थे। लगानीकर्ताहरुले सहज र छिटो सेवा पाउँथे। र थप धेरै लगानीकर्तालाई सेकेण्डरी मार्केटमा प्रवेश गराउन सकिन्थ्यो । यो विषयमा पनि सिइओ सरले हेर्नुहुन्छ भन्ने आशा गरेको छु।,” उनले भने।

अर्यालले सेटलमेन्ट साइक्ललाई टि+२ बाट घटाएर टि+१ मा ल्याउन सकिने सम्भावनामा अध्ययन सुरु गर्नुपर्ने सुझाव पनि दिए। “टि+२ हुँदा सेयर लगानीकर्ताको खातामा आउन ढिला हुने, ब्रोकरको टर्नओभरमा असर पर्ने र सम्पत्ति तीन दिनसम्म ब्लक हुने जस्ता समस्या देखिन्छन्। टि+१ मा जाँदा बजारको तरलता (liquidity) अझै बढ्नेछ,” उनले बताए।

उनले नेप्सेको सेवा, संस्थागत सुशासन र लगानीकर्तासँगको व्यवहार सुधारतर्फ पनि नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उल्लेख गरे। “हामी नेप्सेका क्लाइन्ट पनि हौं, सेवाग्राही पनि। हामीले अनुभव गर्ने सेवा सहज, पारदर्शी र सन्तोषजनक बन्नुपर्छ,” उनले थपे।

अन्त्यमा अर्यालले नयाँ सीईओको कार्यकाललाई चुनौती र अवसरको संगमका रूपमा व्याख्या गर्दै समस्याहरूलाई रणनीतिक ढंगले समाधान गर्न सके समग्र सेयर बजारलाई सकारात्मक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरे। साथै उनले चापागाईंको नेतृत्वमा नेप्सेले नयाँ उचाइ चुम्ने अपेक्षा गर्दै शुभकामना समेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स