नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले पूर्व-योग्यता प्राप्त सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट ४० करोड थान एक रुपैयाँ दरका नेपाली सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। बैंकले २०८३ असोज १८ गते (४ अक्टोबर २०२६) सूचना प्रकाशित गर्दै उक्त सिक्का तथा सम्बन्धित सेवाहरूको व्यवस्थापनका लागि योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी बोलपत्र माग गरेको हो। इच्छुक पूर्व-योग्यता प्राप्त बोलपत्रदाताहरूले एकल चरणको दुई खाम प्रणाली (प्राविधिक र वित्तीय) अन्तर्गत छुट्टाछुट्टै खाममा बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
सम्बन्धित बोलपत्रदाताहरूले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली वा टकमरी महाशाखा, बबरमहलबाट आवश्यक दस्तुर बुझाएर बोलपत्र कागजात खरिद गर्न सक्नेछन्। बोलपत्र कागजातको दस्तुर नेपाली रुपैयाँ २०,०००, अमेरिकी डलर १३१ वा युरो ११५ तोकिएको छ र यो रकम आगामी २०८३ कात्तिक १७ गते (२ नोभेम्बर २०२६) सम्ममा बुझाइसक्नुपर्ने कम्पनीले जनाएको छ। सूचना अनुसार प्री-बिड बैठक २०८३ असोज २९ गते (१५ अक्टोबर २०२६) मध्यान्ह १२:०० बजे थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयमा बस्नेछ।
प्रस्तावित बोलपत्रहरू २०८३ कात्तिक १८ गते (३ नोभेम्बर २०२६) मध्यान्ह १२:०० बजेभित्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा दर्ता भइसक्नुपर्नेछ र सोही दिन दिउँसो १:०० बजे बोलपत्रदाता वा तिनका प्रतिनिधिहरूको उपस्थितिमा बोलपत्र खोलिने सूचनामा उल्लेख छ। बोलपत्र खुला भएको मितिबाट १२० दिनसम्म मान्य हुनुपर्नेछ भने यसका लागि अमेरिकी डलर १,४८,००० वा सो सरहको नेपाली वा अन्य विदेशी मुद्रा बराबरको बिड सेक्युरिटी आवश्यक पर्नेछ। उक्त बिड सेक्युरिटीको वैधता अवधि २०८३ चैत २० गते (२ अप्रिल २०२७) सम्म हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

