मुक्तिनाथ विकास बैंक लिमिटेडले ५०,००० थान कन्ट्याक्टलेस भिजा डेबिट कार्ड आपूर्तिको लागि योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले २०८३/०७/१३ मा पहिलोपटक सूचना प्रकाशित गर्दै योग्य आपूर्तिर्ताहरूलाई प्राविधिक तथा वित्तीय प्रस्ताव पेश गर्न आग्रह गरेको हो।
इच्छुक बोलपत्रदाताहरूले रु ३,००० (गैर-फिर्तायोग्य) शुल्क भुक्तानी गरी बैंकको जुनसुकै शाखाबाट बोलपत्र फारम प्राप्त गर्न सक्नेछन्। उक्त शुल्क बैंकको खाता नाम ‘Bid Application Fee’ र खाता नम्बर ०१३-९४९०१७०१०२१ मा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ। सिलबन्दी बोलपत्र पेश गर्दा प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ औं दिनको अपराह्न ४:०० बजेभित्र बैंकको कार्यालयमा बुझाउनुपर्नेछ। बोलपत्रका साथ मूल्य अभिवृद्धि कर (भ्याट) सहितको बोलपत्र रकमको कम्तीमा ५ प्रतिशत बराबरको र कम्तीमा ६० दिनको मान्य अवधि भएको बोलपत्र जमानत (Bid Security) पेश गर्नुपर्नेछ।
पेश गरिएका बोलपत्रहरू सूचना प्रकाशित भएको १६ औं दिनको बिहान ११:०० बजे बोलपत्रदाता वा तिनका प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ। बोलपत्र बुझाउने वा खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसपछिको दोस्रो कार्यालय दिनमा सो कार्य हुने बैंकले जनाएको छ। बैंकले कारण नजनाई पूर्ण वा आंशिक रूपमा जुनसुकै वा सबै बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ। थप जानकारीका लागि बैंकको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयको जनरल सर्भिस डिपार्टमेन्टमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

