आज रातिदेखि सबै सरकारी खाता बन्द हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २५ गते
आज रातिदेखि सबै सरकारी खाता बन्द हुने
AdvertisementAds

संघ, प्रदेश र स्थानीय तहका सरकारी खाताबाट हुने नियमित भुक्तानी आज बिहीबार राति १२ बजेदेखि एक साताका लागि बन्द हुने भएको छ। आर्थिक वर्षको अन्त्यसँगै खर्चको लेखा अद्यावधिक र हिसाब मिलानका लागि यस्तो व्यवस्था लागू गर्न लागिएको हो।

महालेखा नियन्त्रक कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी, निकासा तथा खर्चको लेखा अद्यावधिक गरी नियमित भुक्तानी बन्द गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।

यसअनुसार स्थानीय तहको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली पनि असार २५ गते राति १२ बजेदेखि बन्द हुनेछ। कार्यालयका अनुसार नियम ३० को उपनियम (७) बमोजिम त्यसपछिको अवधि अर्थात् २०८३ असार ३२ गतेसम्म भने हिसाब मिलानका लागि मात्रै सीमित प्रकृतिका कारोबार गर्न सकिनेछ।

महालेखा नियन्त्रक कार्यालयले असार २५ गतेसम्म भएका भुक्तानीबाट कट्टी भई दाखिला हुन बाँकी रहेका अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, पारिश्रमिक कर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सावधिक जीवन बिमा कोष, योगदानमा आधारित निवृत्तिभरण कोष तथा कट्टी गरिएका धरौटीलगायतका सबै रकम अनिवार्य रूपमा बैंकमा जम्मा गर्न निर्देशन दिएको छ।

त्यस्तै, असार २५ गतेसम्म स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत गरिएका विद्युतीय भुक्तानीमध्ये विभिन्न कारणले असफल भएका भुक्तानी पुनः गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

AdvertisementAds

यसैबीच, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गत खर्च हुन नसकेको रकम २०८३ असार मसान्तभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाई कार्यालयमा फिर्ता गर्न पनि कार्यालयले निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स