चर्को आलोचनापछि एनसेलको यू-टर्न: रिचार्ज म्याद फेरी पुरानै बनायो
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्ज भ्यालिडिटी घटाउने नीतिका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आफ्नो निर्णय सच्याएको छ। अब कम्पनीले रिचार्ज भ्यालिडिटीलाई नेपाल टेलिकमको स्तरमा पुर्याएको छ।
नयाँ संरचनाअनुसार ५० देखि ९९.९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ३० दिनको भ्यालिडिटी पाउनेछन्। १०० देखि १९९.९९ रुपैयाँसम्मको रिचार्जमा ६० दिनको अवधि, २०० देखि २९९.९९ रुपैयाँसम्ममा १४० दिनको अवधि, ३०० देखि ४९९.९९ रुपैयाँसम्मको रिचार्जमा २०० दिनको अवधि, ५०० देखि ९९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३६० दिनको अवधि र १,००० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ७३० दिनको भ्यालिडिटी दिइनेछ।
यसअघि कम्पनीले १,००० रुपैयाँको रिचार्जमा ९० दिनको भ्यालिडिटीमात्र दिने निर्णय गरेको थियो। त्यसैगरी, ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा ७ दिन, ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्जमा ५० दिन, र १,००० रुपैयाँभन्दा माथिको रिचार्जमा ९० दिनको मान्य अवधि लागू गरेको थियो।
एनसेलले लामो समयसम्म सिम एक्टिभ राखेर इनकमिङ कल मात्र प्रयोग गर्ने ग्राहकलाई निरुत्साहित गर्न भ्यालिडिटी घटाउने निर्णय गरेको थियो। तर, चर्को आलोचना र असन्तोषपछि कम्पनीले आफ्नो नीति परिमार्जन गर्दै पुन: पुरानै भ्यालिडिटी लागू गरेको हो। कम्पनीले नयाँ भ्यालिडिटी संरचना आफ्नो वेबसाइट र मोबाइल एपमा अद्यावधिक गरिसकेको छ।