१ वर्षमा राष्ट्र बैंकका गभर्नर साथै अन्य सञ्चालक समितिले तलब र भत्ता कति लिए ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
१ वर्षमा राष्ट्र बैंकका गभर्नर साथै अन्य सञ्चालक समितिले तलब र भत्ता कति लिए ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा तलब, भत्ता तथा अन्य सुविधा बापत ६४ लाख ६२ हजार रुपैयाँ बुझेका छन्। गभर्नर अधिकारीले एक वर्षको तलब १६ लाख ६२ हजार, बोर्ड बैठक भत्ता ३ लाख ३३ हजार, र ४४ लाख ९७ हजार रुपैयाँ बराबरका अन्य सुविधाहरू बुझेका हुन्। गत आर्थिक वर्षमा राष्ट्र बैंकका सञ्चालक समितिको ३७ पटक र व्यवस्थापन समितिको ४७ पटक बैठक बसेको प्रतिवेदनमा उल्लेख छ।

गभर्नर अधिकारीको तलब १६ लाख ३२ हजार कायम भए पनि अन्य सुविधाहरूमा वृद्धि भएकाले गत वर्षको तुलनामा यो रकम बढेको हो। आर्थिक वर्ष २०७९/८० मा उनले ६० लाख ९१ हजार रुपैयाँ बुझेका थिए। डेपुटी गभर्नरहरूले समेत उच्च सेवा सुविधा पाएका छन्। डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार तलब, २ लाख ९७ हजार भत्ता, र ४५ लाख ५९ हजार अन्य सुविधासहित ६३ लाख १६ हजार बुझेकी छिन्। अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले १४ लाख ६० हजार तलब, ३ लाख १५ हजार भत्ता, र ४० लाख ७१ हजार अन्य सुविधासहित ५८ लाख ४६ हजार बुझेका छन्।

राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नरसहित ७ सदस्य रहने व्यवस्था छ। समितिमा गभर्नर र दुई डेपुटी गभर्नर कार्यकारी पदाधिकारी हुने भएकाले उनीहरूको तलब तोकिएको हुन्छ। अन्य सदस्यहरू सरकारको नियुक्तिमा रहन्छन्। समितिमा समावेश अर्थ सचिवहरूले भत्ता तथा सुविधाबापत फरक-फरक रकम बुझेका छन्। अर्जुनप्रसाद पोखरेलले १ लाख ३७ हजार, डा. कृष्णहरि पुष्करले ३ लाख ७३ हजार, र मधुकुमार मरासिनीले १ लाख ३९ हजार बुझेका छन्।

अन्य सञ्चालकहरूमध्ये चिन्तामणि शिवाकोटीले बैठक भत्ता ३ लाख २४ हजार र अन्य सुविधा ८ लाख ७३ हजारसहित ११ लाख ९७ हजार, डा. शंकरप्रसाद आचार्यले १४ लाख १ हजार, र डा. रवीन्द्रप्रसाद पाण्डेले ११ लाख ८६ हजार बुझेका छन्। राष्ट्र बैंकका पदाधिकारीहरूको तलब र सुविधाको व्यवस्थापनबारे यो वार्षिक प्रतिवेदनले विस्तृत जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स