सूचना, विकास तथा प्रविधि मन्त्रीले टिकटक लगायतका सामाजिक सञ्जालबाट युवाहरूलाई रोजगारीका अवसर प्राप्त हुने सम्भावना रहेको बताएका छन्। राष्ट्रिय समाचार समितिसँगको अन्तरवार्तामा उनले टिकटकको पुन: सञ्चालनले राज्यलाई करिब तीन अर्ब रुपैयाँको राजस्व वृद्धि गर्न सक्ने र हजारौँ युवाहरूलाई रोजगारका अवसर प्रदान गर्ने आशा व्यक्त गरेका छन्।
मन्त्री गुरुङले भने, “सामाजिक सञ्जाललाई व्यवस्थित तरिकामा सञ्चालन गर्न सकेमा युवाहरूलाई रोजगारको अवसर र राज्यलाई राजस्वमा लाभ मिल्नेछ।” उनले टिकटक कम्पनीसँगको सहकार्यमा नेपालका लागि पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, र सार्वजनिक शिक्षामा सहयोगको प्रस्ताव गरिएको जानकारी दिएका छन्। टिकटकका सञ्चालक कम्पनीले पनि यी प्रस्तावहरू सकारात्मक रूपमा लिएको बताइएको छ।
साथै, टिकटकमा अपलोड गरिने सामग्रीलाई नेपालीसहित अन्य भाषामा ‘फिल्टरेशन’ र ‘मोडरेशन’ गर्ने प्रक्रिया लागू गर्ने शर्त पनि सरकारले राखेको छ। यसले सामाजिक सद्भाव कायम गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
मन्त्रीले अन्य सामाजिक सञ्जालमा पनि यी सर्तहरू लागू गर्न सकिने विश्वास व्यक्त गरेका छन् र विभिन्न सामाजिक सञ्जाललाई व्यवस्थित तरिकामा सञ्चालन गर्दा हजारौँ युवाहरूलाई रोजगारी र राज्यलाई करोडौं राजस्व प्राप्त हुने आशा गरेको बताएका छन्।




















प्रतिकृया