प्रचण्डले खोले दुई दलिय शासनको षड्यन्त्रको पोल, जनतालाई सतर्क रहन आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १९ गते
प्रचण्डले खोले दुई दलिय शासनको षड्यन्त्रको पोल, जनतालाई सतर्क रहन आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलिय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन् ।

बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलिय शासनतिर लान खोजिएको बताएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भुमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिएको उनको भनाई छ ।

उनले भने – ‘बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ । राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएका छन् । यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्ने । जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने । सदनलाई प्रभावकारी बनाउने । अन्तरक्रिया छलफल गर्ने । सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरुलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशंका भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ । जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको छ भनेर अध्यक्षले भन्नुभयो ।  सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको हाम्रो शक्तिलाई पनि प्रभावकारी बनाउने । त्यसको साथसाथै अन्य फोरमहरुमा पनि सरकारको जनविरोधी क्रियाकलापहरु, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ । दुई दलिय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ । त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरित भएको बताए । प्रधानन्त्रीले वृहत शान्ति सम्झौताको विपरित बोलेको उनले बताए । उनले नेकपा हुँदा दस्तावेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए ।

उनले भने – ‘उहाँ देशको प्रधानमन्त्री हो । एउटा पार्टीको अध्यक्ष पनि हो । त्यो कुरा बोल्नु सरासर संविधान विपरित छ । सहमती विपरित छ । संविधानमा सशस्त्र सङ्घर्ष भनिएको छ । वृहत शान्ति सम्झौतामा पनि सशस्त्र सङ्घर्ष भनिएको छ । बाह्र बुँदे समझदारीको बिरुद्धमा बोल्नुभएको छ । बृहत शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ । नेकपा हुँदा पनि सशस्त्र सङ्घर्ष भनिएको थियो । यि सबै कुराले आफैँ सहमत भएको कुरामा फेरि त्यसो भन्नु सरासर बदनीयतपूर्ण छ । अनैतिक छ । र संविधानको विपरित छ । हिजोको सहमती विपरित छ । जनयुद्ध बिना गणतन्त्र यो धर्तिमा असम्भव थियो । त्यही गणतन्त्र ल्याएर अहिले तीन पटकसम्म प्रधानमन्त्री हुनुभएको छ । यस अर्थमा त्यो भन्दा कृतघ्नताको पराकाष्ठा केही होइन । त्यसकारण उहाँहरु पछाडी फर्किन चाहनुहुन्छ । अग्रगमनतिर होइन । परिवर्तनतिर होइन । यो बोल्नु सर्वथा गलत छ ।’ 

प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजिपती, विचौलिया र माफियाहरुको पक्षमा छ भन्ने स्पष्ट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स