नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न आइतबार १ खर्ब रुपैयाँ तरलता खिच्न लागेको छ। निक्षेप संकलन उपकरण बोलकबोल मार्फत यो रकम खिच्न लागिएको हो।
२ भदौमा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ खिचिएको थियो, जुन उपकरण आइतबार परिपक्व हुँदैछ। सोही दिन पुन: २१ दिनका लागि १ खर्ब रुपैयाँको नयाँ निक्षेप संकलन उपकरण जारी गर्ने तयारी गरिएको छ। यसअघि १२ भदौ र १९ भदौमा ४०/४० अर्ब रुपैयाँका निक्षेप संकलन उपकरण बोलकबोल गरिएको थियो, जसमा १२ भदौमा २२ अर्ब २० करोड र १९ भदौमा ३७ अर्ब ८० करोड रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरिएको थियो। यी उपकरणहरू परिपक्व हुने क्रम अझै बाँकी छ।
चालु आर्थिक वर्षको सुरुदेखि नै नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २ खर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ, जसमा १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको छ। आइतबार १ खर्ब रुपैयाँको उपकरण परिपक्व हुने भएकाले, त्यसै दिन पुन: १ खर्ब रुपैयाँ खिच्न लागिएको हो।
यस बाहेक, स्थायी निक्षेप सुविधा अन्तर्गत ५६ खर्ब ७५ अर्ब १० करोड रुपैयाँको तरलता खिचिसकिएको छ, जसमा १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ बक्यौता रहेको छ। चालु आवमा कुल २१ खर्ब २१ अर्ब ५० करोड रुपैयाँको तरलता खिचिएकोमा हालसम्म २ अर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।




















प्रतिकृया