खाजा समयमा सरकारी सेवा प्रवाहमा अवरोध रोक्न सरकारको कडा कदम

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २४ गते
खाजा समयमा सरकारी सेवा प्रवाहमा अवरोध रोक्न सरकारको कडा कदम

सरकारले सरकारी कार्यालयहरूमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, र अन्य निकायहरूलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्र छुट्याउन र यो समयलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।

१२ पुस २०८० को मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८० मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयहरूको खाजा समय तोकेको छ। परिपत्रमा, उक्त तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्न र अन्य समयमा कार्यालयको सेवा प्रवाहमा अवरोध नआउने गरी व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

अनुगमनका क्रममा कतिपय निकायहरूले खाजा समय तोकिएभन्दा बढी निर्धारण गरेको पाइएकाले, यसमा सुधार गर्न प्रधानमन्त्री कार्यालयले जोड दिएको छ। परिपत्रमा मन्त्रालयहरू र तिनीहरूअन्तर्गतका निकायहरूलाई तोकिएको खाजा समयको कडाइका साथ पालना गर्न भनिएको छ।

यसअघि, सार्वजनिक विदासम्बन्धी राजपत्रले सरकारी कार्यालयहरूले आलोपालो मिलाएर आधा घण्टाको खाजा समय तोक्न सक्ने व्यवस्था गरिदिएको थियो, तर गत वर्षदेखि सरकारले १ः३० देखि २ः०० बजेसम्मको खाजा समयलाई एकरूपता दिएको छ, जसले गर्दा कर्मचारीहरूले आलोपालो मिलाएर खाजा लिने कुरा कम भएको देखिन्छ।

खाजा समयको अव्यवस्थापनले सेवाग्राहीलाई कार्यकक्षमा कुराइराख्ने र कर्मचारीलाई क्यान्टिनमा अलमलिने अवस्थाको सिर्जना गरेको छ। यो समस्या सरकारी कार्यालयहरूमा मात्र नभई सरकारी अस्पताल, संवैधानिक आयोग, र अन्य सरकारी संस्थानहरूमा समेत देखिएको छ। कतिपय सरकारी कार्यालयहरूले १ घण्टाको खाजा समय निर्धारण गर्दा सेवाग्राहीहरू समस्यामा पर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स