ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
जलस्रोत तथा सिँचाइ विभागले आज आयोजना गरेको ‘चौथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठी’मा बोल्दै उनले आयोजनाको गुणस्तरलाई ध्यान दिइ समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “राष्ट्रिय गौरवका आयोजना भन्ने तर आयोजना सम्पन्न गर्न ३०/३५ वर्ष लाग्ने गौरवको आयोजनालाई गौरवयोग्य बनाउनुपर्छ,” मन्त्री खड्काले भने । उनले धेरै क्षेत्रमा बजेट बाँडफाँट गरेर काम नहुनुभन्दा एउटै आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए ।
मन्त्री खड्काले एउटै आयोजनामा तीनै तहको सरकारको बजेट पर्ने गरेको भन्दै त्यसो हुन नदिन अन्तरसरकारसँग सहकार्य गर्नुपर्ने उल्लेख गरेका छन्। उनले कर्मचारीलाई निर्भिक ढङ्गले इमान्दार भएर काम गर्न आग्रह गरे । “म दुर्घटना नगरी मन्त्रालयको ड्राइभिङ गर्छु, तपाईंहरु पाटपुर्जा ठीक ठाउँमा राख्नूहोस्,” मन्त्री खड्काले भने ।
उनले जलस्रोत तथा सिँचाइ विभाग किसानसँग प्रत्यक्ष जोडिएकाले किसानलाई राहत र सहुलियत प्रदान गर्नेतर्फ लाग्नुपर्ने बताए । तेस्तै, उनले १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउन लागेको समय हेरेर आगामी योजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।साथै, उनले आयोजना अगाडि बढाउँदा प्रविधि, आधुनिकीकरणको समस्या र कामदारको समस्यालाई हेर्नुपर्ने बताए ।उनले हिमाल, पहाड र तराईमा सिँचाइको समस्या भिन्दाभिन्दै रहेकाले त्यसलाई सम्बोधन हुनेगरी विभागले काम गर्नुपर्ने उल्लेख गरेका छन् ।














प्रतिकृया