जहाँ भ्रष्टाचार हुन्छ, त्याहाँ इमानदार अनुसन्धान हुनुपर्छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका लागि सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको अनुसन्धानमा सबैको सहमति आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘जहाँ भ्रष्टाचार छ, समाजले मान्य गरेको छ, सदनमा प्रश्न उठेको छ, त्यसको इमानदार अनुसन्धान गर्न जरूरी छ। यो विषयमा सहमति आवश्यक छ,’ उनले भने।
अध्यक्ष दाहालले सरकारमा हुँदा र बाहिर हुँदा आफूले फरक कुरा नगरेको दाबी गरे।
‘पछिल्लो कार्यकालमा मैले भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदको अन्त्यका लागि, सामाजिक न्यायका पक्षमा, र देशलाई आर्थिक समस्या समाधान गर्न इमानदारीपूर्वक काम गरेको छु। सरकारमा हुँदा भनेका कुरा बाहिर आएपछि पनि उस्तै छन्,’ उनले भने। ‘कहिलेकाहीँ शब्द तलमाथि पर्न सक्छन्, किनकि म अलि भावुक छु भन्ने कुरा नेपाली समाजले बुझिसकेको छ।’
उनले आफ्नो नियत र निष्ठा सफा रहेको र जनताले यो कुरा बुझ्दै गएको विश्वास व्यक्त गरेका छन्।