के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो केही सातादेखि लगातार दबाबमा रहे पनि प्राविधिक विश्लेषणका केही महत्वपूर्ण सूचकहरूले बजार बटमिङ चरणमा पुगेको संकेत गर्न थालेका छन्।

बजार विश्लेषक बसन्त पाण्डेका अनुसार नेप्सेको दैनिक (Daily Time Frame) रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (RSI) करिब २५ को स्तरमा झरेको छ, जुन विगतमा निकै कम पटक मात्रै देखिएको अवस्था हो। यसअघि गत वर्षको जेनजी आन्दोलनपछि पनि RSI २० को आसपास पुगेको थियो र त्यसपछि बजारले उल्लेखनीय सुधार गर्दै करिब २९५० अंकसम्मको यात्रा तय गरेको थियो।

उनका अनुसार अहिले पनि त्यस्तै प्रकारको प्राविधिक अवस्था दोहोरिएको देखिन्छ। नेप्से मात्र होइन, बैंकिङ, हाइड्रोपावर, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा तथा उत्पादनमूलक क्षेत्रका अधिकांश सूचकहरू पनि ओभरसोल्ड जोनमा प्रवेश गरिसकेका छन्।

विश्लेषणअनुसार अहिले बजार २६४० देखि २६६० अंकको दायरामा साइडवेज कारोबार गरिरहेको छ। तल्लो स्तरमा खरिदकर्ता सक्रिय देखिएका छन् भने माथिल्लो स्तरमा बिक्री दबाब कायम छ। यस्तो अवस्थालाई बजारले बटम निर्माण गरिरहेको संकेतका रूपमा लिन सकिने पाण्डेको भनाइ छ।

उनले पछिल्लो समय देखिएका राजनीतिक तथा अनुसन्धानसम्बन्धी घटनाहरूलाई पनि बजारले क्रमशः पचाउँदै गएको बताए। सुरुमा चर्चित व्यवसायी र केही ठूला कम्पनीसँग सम्बन्धित अनुसन्धानका कारण बजारमा प्यानिक सेलिङ देखिए पनि अहिले ती घटनाहरूलाई बजारले सामान्य प्रक्रियाका रूपमा लिन थालेको उनको विश्लेषण छ।

पाण्डेका अनुसार आगामी दिनमा केही नीतिगत सुधारले बजारलाई थप ऊर्जा दिन सक्छ। बजेटमार्फत घोषणा गरिएको सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना, गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा सहज पहुँच दिने व्यवस्था तथा ब्रोकरमार्फत सुरु हुन लागेको मार्जिन लेन्डिङ प्रणालीले बजारमा नयाँ तरलता ल्याउन सक्ने उनको विश्वास छ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको गैर-बैंकिङ सम्पत्ति (Non-Banking Assets) व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी प्रभावकारी भए बैंकहरूको वित्तीय अवस्था सुधार हुने र त्यसले समग्र सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस्तै, मार्जिन लेन्डिङ सुरु भएपछि ब्रोकरमार्फत बजारमा थप लगानी आउने सम्भावना रहेको उनको भनाइ छ। यसले छोटो अवधिमा बजारको कारोबार र तरलता दुवै बढाउन सहयोग पुग्ने विश्लेषण गरिएको छ।

यद्यपि उनले कम्पनीहरूको नाफा अझै कमजोर रहेको, बैंक तथा वित्तीय संस्थाहरू दबाबमा रहेको र बजारलाई दीर्घकालीन रूपमा माथि लैजान कम्पनीहरूको आम्दानीमा सुधार आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

पाण्डेका अनुसार यदि नेप्से २६६० अंकमाथि बलियो बुलिस क्यान्डलसहित टिक्न सफल भयो भने बजारले बटम निर्माण गरेको पुष्टि हुने सम्भावना बढ्नेछ। त्यसपछि बजारले पुनः २९०० देखि ३००० अंकसम्मको यात्रा गर्ने आधार तयार हुन सक्ने उनको निष्कर्ष छ।

उनले अहिलेको अवस्थालाई अत्यधिक निराशा र डरको दृष्टिकोणबाट मात्र नहेरी प्राविधिक संकेत, नीतिगत सुधार र बजारको मनोविज्ञानलाई समेत समग्र रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


Discover more from BAJARKO CHIRFAR

Subscribe to get the latest posts sent to your email.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स