आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौँ : गृहमन्त्री लेखक



Advertisement
Ads

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासलाई गति दिन सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।

शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री लेखकले स्वदेशी उत्पादनको प्रोत्साहन र उद्योग विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, “सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति अपनाएको छ। उद्योगको विकासका लागि सरकारले निरन्तर काम गरिरहेको छ।”


Advertisement

गृहमन्त्री लेखकका अनुसार सरकार शासकीय सुधार, उद्योग व्यवसायलाई सहज सञ्चालन, र सुशासन प्रत्याभूत गर्ने कानुनहरू निर्माण गर्न अग्रसर छ। उनले भने, “उद्योग विकासका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न सधैं तयार छ।”

गैरआवासीय नेपालीहरूको लगानी आकर्षित गर्न र मुलुकमा लगानीको वातावरण सुधार गर्न सरकारले महत्वपूर्ण कदम चालेको उनले जानकारी दिए। उनले भने, “आईटी क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने कानुनी व्यवस्था गरिएको छ। यसले उद्योगलाई प्रोत्साहन गर्नेछ।”

कानुन बनेर पनि कार्यान्वयनमा समस्या हुने पुरानै समस्या समाधान गर्न सरकारले प्रभावकारी निर्णयहरू लिएको उनले बताए। “सात दिनभित्र निर्णय गर्ने व्यवस्था लागू गरेका छौं। निर्णय हुन सकेन भने कारणसहित जवाफ दिनुपर्छ, नत्र कारबाही हुनेछ,” मन्त्री लेखकले प्रस्ट पारे।

उनले आर्थिक समृद्धिको मार्गमा देशलाई अघि बढाउन कानुन निर्माण र यसको कार्यान्वयनमा सरकार दृढ रहेको धारणा व्यक्त गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर