बागमती प्रदेशमा सवारी लाइसेन्सको शुल्क दोब्बर, आवेदनदेखि नवीकरणसम्म सबै महँगियो

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १६ गते
बागमती प्रदेशमा सवारी लाइसेन्सको शुल्क दोब्बर, आवेदनदेखि नवीकरणसम्म सबै महँगियो
AdvertisementAds

बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै प्रकारका दस्तुर दोब्बरले बढाएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको ‘आर्थिक विधेयक, २०८३’ मार्फत लाइसेन्सको आवेदन, नयाँ लाइसेन्स, नवीकरण तथा वर्ग थप (क्याटेगोरी एड) सम्बन्धी शुल्क बढाउने व्यवस्था गरेको हो। नयाँ शुल्क आगामी आर्थिक वर्षदेखि लागू हुनेछ।

हाल सबै वर्गका सवारी साधनको लाइसेन्सका लागि आवेदन दिँदा ५०० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था रहेकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, नयाँ लाइसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने शुल्क पनि दोब्बर बनाइएको छ। हाल मोटरसाइकल तथा स्कुटर (ए/के वर्ग) को लाइसेन्सका लागि १ हजार ५०० रुपैयाँ लाग्दै आएकोमा अब ३ हजार रुपैयाँ तिर्नुपर्नेछ।

कार, जीप, भ्यान (बी), टेम्पो तथा अटोरिक्सा (सी) र पावर ट्रिलर (डी) वर्गका सवारीको लाइसेन्स शुल्क २ हजार रुपैयाँबाट बढाएर ४ हजार रुपैयाँ पुर्‍याइएको छ।

AdvertisementAds

यस्तै, ट्र्याक्टर (ई) तथा मिनिबस र मिनी ट्रक (एफ) वर्गको लाइसेन्स शुल्क २ हजार ५०० रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ कायम गरिएको छ।

ट्रक, बस र लहरी (जी), रोडरोलर तथा डोजर (एच), क्रेन, दमकल र लोडर (आई) तथा एस्काभेटर, ब्याकहो लोडर, गर्डरलगायत (जे) वर्गका सवारीको नयाँ लाइसेन्स र नवीकरण शुल्क ३ हजार रुपैयाँबाट बढाएर ६ हजार रुपैयाँ बनाइएको छ।

प्रदेश सरकारले सबै वर्गका सवारी चालक अनुमतिपत्रको नयाँ जारी हुने तथा नवीकरण हुने लाइसेन्सको म्याद १० वर्ष कायम रहने व्यवस्था पनि गरेको छ।

वर्ग थप (क्याटेगोरी एड) को दस्तुर पनि दोब्बर बनाइएको छ। एदेखि एफ वर्गसम्म वर्ग थप गर्न हाल ५०० रुपैयाँ लाग्ने व्यवस्था रहेकामा अब १ हजार रुपैयाँ लाग्नेछ। त्यस्तै, जीदेखि जे वर्गसम्म वर्ग थप गर्दा हाल १ हजार रुपैयाँ लाग्ने शुल्क बढाएर २ हजार रुपैयाँ कायम गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स