बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरणमार्फत बजारबाट ठूलो रकम खिच्ने भएको छ। केन्द्रीय बैंकले आज वैशाख ११ गते एकैपटक १ खर्ब २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन गर्ने तयारी गरेको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। बोलकबोल गर्दा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ। ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्ने भए पनि बहुब्याजदरमा पनि आवेदन दिन सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। १९ दिने अवधिका लागि संकलन गरिने यो निक्षेपको साँवा तथा ब्याज वैशाख ३० गते भुक्तानी गरिनेछ।
पछिल्लो समय कर्जाको माग अपेक्षित रूपमा नबढ्दा बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेको छ। यस कारण बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदरमै, करिब ३ प्रतिशतको हाराहारीमा, राष्ट्र बैंकमा पैसा राख्न बाध्य भइरहेका छन्।




















प्रतिकृया